१५ चैत्र २०८०, बिहिबार
Tags

अबोध बालिका बलत्कारपछि हत्याको विरोध, भिडियो खिचेकै आधारमा संचारकर्मी पक्राउ

रणभूमी डेस्क बुधबार, चैत्र ०२, २०७८

मोरङ / चैत्र २, डेढ वर्षकी अबोध बालिकालाई बलात्कारपछि हत्या गरेको विरुद्धमा सर्वसाधारणले चक्काजाम गरेको भिडियो खिच्ने एकजना सञ्चारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

सर्वसाधारणले मोरङको सुन्दरहरैंचाको गछियामा मंगलबार पूर्वपश्चिम राजमार्गमा २ घण्टा चक्काजाम गरेका थिए । चक्काजामका क्रममा सञ्चारकर्मी सम्झना राईसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाको नाम पनि प्रहरीले सार्वजनिक गरेको छैन । मोरङको सुन्दरहरैचा नगरपालिका–७ गणेशपुरकी १८ महिने नाबालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका दुई युवालाई पक्राउ गरिसकेको छ । बालिकाको हत्या आरोपमा सुन्दरहरैचा ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । त्यहाँका सर्वसाधारणले बालिकाका परिवारलाई क्षतिपूर्ति र पक्राउ परेका दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै चक्काजाम गरेका थिए । सो क्रममा ३ वटा बसमा आगजनी गरेको प्रहरीको आरोप छ । पक्राउ परेकी सञ्चारकर्मी राईले भने आफूले भिडियो खिचिरहेको र आन्दोलनमा सहभागी पनि नभएको बताउनुभयो । पक्राउ परेकी राई मोरङको उर्लाबारीबाट सञ्चालित पूर्वी कमाण्ड अनलाइनमा काम गर्नुहुन्छ ।

प्रहरीले उहाँ पनि आन्दोलनमा सहभागी भएको दाबी गरेको छ । मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले पक्राउ परेका विरुद्ध मुद्दा चलाउने तयारी गरेको बताउनुभयो । ‘अभद्र व्यवहार’मा मुद्दाको तयारी गरिरहेको उहाँको भनाइ छ । भिडियो खिचेकै आधारमा संचारकर्मीलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रता विरुद्धमा भएको प्रेस सेन्टर मोरङ उर्लाबारी शाखाका अध्यक्ष सरोज बस्नेतले प्रेस विज्ञप्ति जारी गर्दै बताउनुभयो । पूर्वी कमाण्ड मिडियाका अध्यक्षसमेत रहेका बस्नेतले सञ्चारकर्मी राईलाई तत्काल छोड्नुपर्ने बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्