११ मंसिर २०८३, बिहिबार
Tags

जोगबनीमा १० लाख नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ, मोटरसाइकल बरामद

५६औँ वाहिनी सशस्त्र सीमा बलको कारबाहीमा मोटरसाइकलको बडीभित्र लुकाइएको नेपाली मुद्रा फेला

रणभूमी सम्वाददाता बिहिबार, मंसिर ११, २०८३

विराटनगर। भारत–नेपाल सीमा क्षेत्रमा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) को ५६औँ वाहिनी बथनाहाले जोगबनीमा १० लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। रकम ओसारपसारमा प्रयोग गरिएको एउटा मोटरसाइकलसमेत बरामद गरिएको छ।

एसएसबीको ५६औँ वाहिनीअन्तर्गत जोगबनीस्थित ‘एफ’ समवायको टोलीले गोप्य सूचनाका आधारमा जोगबनी सीमा प्रवेशद्वार नजिक सीमा स्तम्भ नम्बर १८० आसपास जाँच अभियान सञ्चालन गरेको थियो।

भारत–नेपाल सीमाबाट करिब पाँच मिटर भारतीय भूमिभित्र जाँच गरिरहेका बेला भारतबाट नेपालतर्फ जाँदै गरेको एउटा मोटरसाइकललाई शङ्का लागेर रोकिएको थियो। मोटरसाइकलको जाँच गर्ने क्रममा त्यसको बडीभित्र लुकाएर राखिएको १० लाख नेपाली रुपैयाँ फेला परेको एसएसबीले जनाएको छ।

पक्राउ पर्नेमा बिहारको अररिया जिल्लास्थित सोनामणि गोदाम थाना क्षेत्रको ककुरवाहा निवासी करिब ४५ वर्षीय विद्यानन्द साह रहेका छन्। उनको साथबाट एउटा सवारी चालक अनुमतिपत्रसमेत बरामद गरिएको छ।

प्रारम्भिक सोधपुछका क्रममा साहले जोगबनी बजारमा एक अज्ञात व्यक्तिबाट उक्त रकम लिएको र विराटनगरमा सौरभ कामत नाम गरेका व्यक्तिलाई पुर्‍याउन जान लागेको बताएका छन्। उनी रकम ओसारपसार गर्ने व्यक्तिका रूपमा परिचालित भएको प्रारम्भिक बयानबाट खुलेको एसएसबीले जनाएको छ।

बरामद गरिएको १० लाख नेपाली रुपैयाँ, मोटरसाइकल र पक्राउ परेका साहलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि भन्सार कार्यालय फारबिसगन्जमा बुझाइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्