१५ बैशाख २०८१, शनिबार
Tags

अभिषेक गिरीलाई सार्न लामिछानेको आदेश

साभार बुधबार, माघ ०४, २०७९

बिराटनगर / उप प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको ठाडो निर्देशनमा जिल्ला कारागार मोरङका चौकीदार अभिषेक गिरीको मकवानपुरको भीमफेदीमा स्थानान्तरण गर्ने निर्णय भएको छ । यो निर्णय सच्याउन माग गर्दै कारागारभित्र आजबाट प्रदर्शन भइरहेको छ । एक महिनापछि फागुन ५ गतेसम्म मात्र कैद सजाय तोकिएका गिरीलाई थप दुःख दिने र फसाउने नियतले गृहमन्त्री रविको ठाडो निर्देशनमा सरुवा गर्न लागिएको भन्दै सरुवाको निर्णय विरुद्ध कारागारका कैदीबन्दीले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । डिल्लीबजार कारागारबाट २०७८ मंसिर ९ गते उनलाई मोरङ ल्याइएको थियो । अभिषेकलाई जेल सार्न मन्त्रीले आदेश दिएकाले आफूहरुले केही गर्न नसक्ने भन्दै गृह सचिवले नै निरिहता प्रदर्शन गरिरहेका छन् ।

मिडियाकर्मी तथा व्यवसायीको रुपमा लामो समय काम गरेका हालका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अभिषेकमाथि व्यक्तिगत प्रतिशोध साँध्न वा परशुराम बस्नेतको योजनामा उनलाई दुःख दिन या खत्तम गर्न खोजिएको हो भन्नेबारेमा बुझ्न सकिएको छैन । विवादास्पद छविका बस्नेत र गिरीबीच वर्षौदेखि दुश्मनी छ ।

गिरीलाई अपहरण तथा शरीर बन्धकमा जेल राखिएकोमा त्यहाँ बस्दा सुध्रिएको भन्दै चौकीदारको भूमिका दिइएको छ । जेलको आन्तरिक प्रशासनमा त्यो धेरै महत्वपूर्ण जिम्मेवारी हो । जेलमा सुध्रिएर बसेको व्यक्तिलाई किन सारिन खोजिएको हो ? धेरैले यो प्रश्न गरिरहेका छन् । जेलभित्र रहेका सबैजसो कैदी, बन्दीले समेत गिरीलाई जेल सरुवा गर्ने कुरामा आपत्ति जनाएका छन् ।

‘उनलाई सार्दा प्रतिवाद हुन्छ र भिडन्तको नाममा मार्ने डिजाइन हुनसक्छ’, अभिषेकका परिवार सदस्यले एक सञ्चार माध्यममा बताउँदै आशंका व्यक्त गरे । एक महिना कैद भुक्तानी बाँकी रहेका बन्दीलाई जेल सार्ने नाममा मार्ने योजना वाहेक के हुनसक्छ ? ती परिवार सदस्यको भनाइ छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले गिरीको स्थानान्तरणको प्रकृया सुरु भएको बताए ।

तत्कालीन गृहमन्त्री बालकृष्ण खाडको ठाडो आदेशमा मोरङ ल्याइएका गिरीलाई गृहमन्त्री रवि लामिछानेको निर्देशनमा भीमफेदी सार्न लागिएको बताइएको छ ।

२०७८ कात्तिक २४ गते मोरङ कारागारमा गिरीकै कारण झडप हुँदा गुरुङसहित छ जना कैदीबन्दी घाइते भएका थिए । त्यसपछि छ जनाकै सरुवा भयो।

साभार : झिल्को डटकम

यहाँ कमेन्ट गर्नुहोस्