रणभूमी सम्वाददाता बुधबार, मंसिर १०, २०८३
विराटनगर। मोरङको विराटनगर महानगरपालिका–१५ स्थित नं. १ ढाट (नागरिक) बाट सशस्त्र प्रहरीले भन्सार छली गरी ल्याइएको विद्युतीय गाडी (ईभी) र कस्मेटिक सामान बरामद गरेको छ।
मंसिर ९ गते दिउँसो १ः४० बजे सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म रानीबाट खटिएको बीआईटी टोली र चेकप्वाइन्ट टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को १ प्र–०१–०३० च ८१८२ नम्बरको विद्युतीय गाडीलाई शंकाका आधारमा रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा गाडीको अगाडिको डिक्कीमा अवैध रूपमा ओसारपसार गर्ने उद्देश्यले लुकाइछिपाई ल्याइएको करिब १ लाख ५ हजार रुपैयाँ बराबरको कस्मेटिक सामान फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद कस्मेटिक सामानको मूल्य १ लाख ५ हजार रुपैयाँ र विद्युतीय गाडीको अनुमानित मूल्य ५० लाख रुपैयाँ रहेको छ। बरामद गाडी र सामानसहित कुल ५१ लाख ५ हजार रुपैयाँ बराबरको मूल्यांकन गरिएको छ।
सशस्त्र प्रहरीले गाडीका चालकलाई समेत नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सीमा सुरक्षा गुल्म रानीमा राखेको छ। बरामद गाडी र कस्मेटिक सामान भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको जनाइएको छ।