रणभूमी सम्वाददाता मंगलबार, मंसिर २३, २०८२
विराटनगर / मोरङ उद्योग व्यापार संघले आगामी पौष ९ गतेदेखि १९ गतेसम्म (डिसेम्बर २४, २०२५ देखि जनवरी ३, २०२६) विराटनगर शान्ती चौकमा ‘विराट ट्रेड एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ। अन्तर्राष्ट्रिय स्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीका रूपमा हुने यो ११ दिने कार्यक्रममा स्वदेश र छिमेकी मुलुकबाट करिब दुई लाख दर्शक आउने अपेक्षा गरिएको छ।
सोमबार जारी प्रेस विज्ञप्तिमा संघका अध्यक्ष अनुपम राठी र एक्स्पो संयोजक अमित कुमार शारदाले जेन्जी आन्दोलनपछि उत्पन्न शिथिल आर्थिक गतिविधिलाई चलायमान बनाउन र मोरङ-सुनसरी आर्थिक करिडोरको प्रवर्द्धनका लागि यो एक्स्पो आयोजना गरिएको जानकारी दिएका छन्।
जिल्ला प्रहरी कार्यालयसँगैको निजी जग्गामा हुने एक्स्पोमा जर्मन प्रविधिको ह्याङगर अक्टानम सहित करिब २३० स्टल राखिने संघले जनाएको छ। प्रदर्शनीमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका अतिरिक्त भारत, बंगलादेश र पाकिस्तानका उत्पादनहरू समेत प्रदर्शन हुनेछन्।
एक्स्पोमा स्टार्टअप, साना तथा मध्यम उद्यम, पर्यटन, सूचना प्रविधि, कर तथा लेखा र महिला उद्यमशीलता सम्बन्धी विभिन्न छलफल तथा गोष्ठी आयोजना गरिने छ। नयाँ उद्यमी, महिला उद्यमी र व्यवसाय विस्तार गर्न चाहनेहरूका लागि उपयोगी ज्ञान र अवसर प्रदान गरिनेछ।
दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्न कुमा सागर, रकहेड्स, इलिमेन्टस, कुटुम्ब, स्वप्न सुमन, उज्जेन शाक्य जस्ता राष्ट्रिय ब्याण्डको प्रस्तुतिसहित विभिन्न साँस्कृतिक कार्यक्रम हुनेछन्। सेल्फी जोन, किड्स जोन, फिस तथा जलपरी टनेल लगायतका आकर्षणहरू राखिने संघले जनाएको छ। मुख्य आकर्षणका रूपमा नेपाली कलाकृतिमा आधारित प्रवेशद्वार निर्माण गरिनेछ।
एक्स्पोको मुख्य प्रायोजकमा रमपम तयारी चाउचाउ र मारुती सिमेन्ट संयुक्त रूपमा रहने छन्। यो कार्यक्रमले कोशी पर्यटन वर्ष २०८२ लाई समेत प्रवर्द्धन गर्ने लक्ष्य लिएको संघले जनाएको छ।
संघीय सरकार, कोशी प्रदेश सरकार, विराटनगर महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ लगायत विभिन्न सरकारी तथा निजी संघ संस्थाको समन्वय र सहयोगमा एक्स्पो सञ्चालन हुन लागेको हो।
वि.सं. २००७ मा स्थापित मोरङ उद्योग व्यापार संघले यसअघि कोशी महोत्सव २०५३, पूर्वाञ्चल औद्योगिक व्यापार मेला २०५७, विराट महोत्सव २०६२ र २०७०, विराट ट्रेड एक्स्पो २०१८ र २०२२ लगायत विभिन्न प्रदर्शनी सफलतापूर्वक सञ्चालन गरिसकेको छ।