रणभूमी सम्वाददाता शनिबार, भाद्र १३, २०८३
विराटनगर / विराटनगरको मेनरोडस्थित ‘उमन सिक्रेट’ नामक कपडा पसलबाट सामान खरिद गरी अनलाइनमार्फत भुक्तानी गरेका ग्राहकलाई पसल सञ्चालकले रकम नआएको भन्दै सामाजिक सञ्जालमा ‘ठगी गरेको’ आरोप लगाएपछि विवाद उत्पन्न भएको छ।
भदौ १३ गते शनिबार बिहानको घटनामा ग्राहकले पसलमा कपडा खरिद गरेपछि पसलमा उपलब्ध क्यूआर कोड स्क्यान गरी रकम भुक्तानी गरेका थिए। भुक्तानी गरेपछि ग्राहक सामान लिएर पसलबाट बाहिरिएका थिए।
तर, पसल सञ्चालकले ग्राहकले गरेको भुक्तानी खल्ती एपमा प्राप्त भएको रकम ई–सेवामा खोज्दा रकम नदेखिएको भन्दै ग्राहकले ठगी गरेको निष्कर्ष निकाले। त्यसपछि सम्बन्धित ग्राहक पसलमा सामान खरिद गरिरहेको अवस्थाको सीसीटीभी भिडियो पसलको नामबाट सञ्चालित टिकटक आईडीमार्फत सामाजिक सञ्जालमा सार्वजनिक गरिएको थियो।
पसल सञ्चालकले ग्राहकले ठगी गरेको दाबी गर्दै तीन–चारवटा भिडियो सामाजिक सञ्जालमा प्रसारण गरेपछि घटना थप गम्भीर बनेको हो। आफूले सामान खरिदबापत रकम विधिवत् भुक्तानी गरिसकेको अवस्थामा पनि सार्वजनिक रूपमा ‘ठग’ बनाइएपछि ग्राहक र उनका आफन्तहरू जवाफ माग्दै पसल पुगेका थिए।
ग्राहकका लागि यो केवल रकमको विषय थिएन। आफूले कुनै गल्ती नगरेको अवस्थामा सामाजिक सञ्जालमा आफ्नो अनुहार र सीसीटीभी दृश्य सार्वजनिक गर्दै ठगीको आरोप लगाइएपछि आफ्नो सामाजिक प्रतिष्ठा, इज्जत र मानसिक अवस्थामा गम्भीर असर परेको उनीहरूको भनाइ थियो।
ग्राहक पक्षले पसल सञ्चालकसँग आफूले रकम भुक्तानी गरिसकेको अवस्थामा प्रमाणबिना सामाजिक सञ्जालमा बदनाम गर्ने अधिकार कसले दियो भन्दै प्रश्न गरेका थिए। विवादका क्रममा पसल सञ्चालकले आफ्नो गल्ती स्वीकार गर्दै ग्राहकसँग माफी मागेका थिए।
पसल सञ्चालकले माफी मागेपछि ग्राहकले पनि घटनालाई थप विवादमा नलैजाने भन्दै उनलाई माफ गरेका थिए। तर, माफी मागेर घटना टुंगिए पनि सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको आरोप र त्यसले ग्राहकको प्रतिष्ठामा पारेको असर भने सहजै मेटिँदैन।
कुनै ग्राहकले रकम नतिरेको वा अनलाइन भुक्तानीमा समस्या देखिएको भए व्यवसायीले सम्बन्धित बैंक, भुक्तानी सेवा प्रदायक वा प्रहरीसमक्ष जानकारी गराएर आवश्यक अनुसन्धान गराउन सक्थे। भुक्तानी सफल भए–नभएको प्राविधिक रूपमा यकिन नगरी ग्राहकलाई सार्वजनिक रूपमा ‘ठग’ वा ‘चोर’को संज्ञा दिनु गम्भीर विषय हो।
व्यवसाय सञ्चालन गर्ने अधिकारसँगै ग्राहकको सम्मान र गोपनीयताको सम्मान गर्ने जिम्मेवारी पनि व्यवसायीको हुन्छ। कुनै प्राविधिक समस्या, भुक्तानी प्रणालीमा देखिएको फरक वा रकम प्राप्त भएको–नभएको विषय सामाजिक सञ्जालमा ग्राहकको चरित्रमाथि प्रश्न उठाएर समाधान गर्ने विषय होइन।
यस घटनाले सामाजिक सञ्जाल प्रयोग गर्दा व्यवसायी तथा सर्वसाधारणले अपनाउनुपर्ने जिम्मेवारीमाथि समेत प्रश्न उठाएको छ। सामाजिक सञ्जालमा एकपटक सार्वजनिक गरिएको भिडियो क्षणभरमै धेरै व्यक्तिसम्म पुग्न सक्छ। त्यसैले कुनै व्यक्तिमाथि आरोप लगाउनुअघि तथ्य र प्रमाणको यकिन गर्नु अत्यन्त आवश्यक हुन्छ।
गल्ती व्यवसायीको प्रणाली वा भुक्तानी परीक्षणमा भएको भए त्यसको मूल्य ग्राहकले आफ्नो इज्जत गुमाएर तिर्नुपर्ने अवस्था आउनु हुँदैन।
ग्राहकले गल्ती नगरेको अवस्थामा उसलाई सार्वजनिक रूपमा अपराधीझैँ प्रस्तुत गर्नु सामान्य कमजोरी मात्र नभई व्यक्तिको सम्मान र सामाजिक प्रतिष्ठासँग जोडिएको गम्भीर विषय हो। त्यसैले यस्ता घटनामा सम्बन्धित निकायले पनि सामाजिक सञ्जालको दुरुपयोग, व्यक्तिगत प्रतिष्ठामा पुर्याइएको क्षति र ग्राहक अधिकारका विषयमा आवश्यक कानुनी पक्ष अध्ययन गरी उचित कदम चाल्नुपर्ने देखिन्छ।
ग्राहकलाई सामान बेचेर पैसा लिनु मात्र व्यवसायको जिम्मेवारी होइन; ग्राहकको सम्मान र अधिकारको संरक्षण गर्नु पनि व्यवसायिक आचरणको अनिवार्य हिस्सा हो।