रणभूमी सम्वाददाता बिहिबार, भाद्र ०४, २०८३
काठमाडौं / देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने ९१ जना घाइते भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको भदौ ३ गतेको २४ घण्टे दुर्घटना विवरणअनुसार विभिन्न प्रदेशमा भएका दुर्घटनामा मानवीय क्षति भएको हो। नेपाल प्रहरीले नियमित रूपमा २४ घण्टाको सवारी दुर्घटना तथा मानवीय क्षतिको विवरण सार्वजनिक गर्दै आएको छ।
प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एक–एक जनाको मृत्यु भएको छ। यस्तै, कोशी प्रदेशमा २८ जना, मधेश प्रदेशमा २४ जना, काठमाडौं उपत्यकामा १६ जना, लुम्बिनी प्रदेशमा १३ जना, बागमती प्रदेशमा ९ जना, सुदूरपश्चिम प्रदेशमा ८ जना र गण्डकी प्रदेशमा एक जना घाइते भएको विवरणमा उल्लेख छ।
मृत्यु भएका तीन जनाको विस्तृत विवरण हेर्दा सल्यान, दाङ र कैलालीमा भएका छुट्टाछुट्टै दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।
सल्यानको कपुरकोट गाउँपालिका–३ मुलपानीस्थित राप्ती राजमार्गमा भदौ २ गते राति फोर्स गाडी र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक ३४ वर्षीय बेदबहादुर वली गम्भीर घाइते भएका थिए। उपचारका क्रममा भदौ ३ गते बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही दुर्घटनामा मोटरसाइकलमा सवार ५२ वर्षीय शुक्लाल वली पनि घाइते भएका थिए।
त्यस्तै, दाङको घोराही उपमहानगरपालिका–९ बसाहीस्थित सडकमा लोड ट्र्याक्टर र अटो एकआपसमा ठोक्किँदा अटो चालक ४५ वर्षीय विनोद पौडेलको मृत्यु भएको छ। दुर्घटनामा अटोमा सवार ४० वर्षीय खिमराज केसी र ४० वर्षीय तिलक केसी घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएकोमा अटो चालक पौडेलको थप उपचारका क्रममा भदौ ४ गते बिहान मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको विवरणमा उल्लेख छ।
कैलालीको भजनी नगरपालिका–८ कुडीस्थित भजनी–सुख्खड सडकखण्डमा पनि मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय मेकश चौधरीको मृत्यु भएको छ। भजनीबाट सुख्खडतर्फ जाँदै गरेको मोटरसाइकल सडक छेउमा रहेको सालको रुखमा ठोक्किँदा चालक चौधरी घाइते भएका थिए। उनलाई उपचारका लागि भजनीस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएकोमा चिकित्सकले भदौ ३ गते राति चेकजाँचका क्रममा मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रहरीको तथ्यांकले एकै दिनमा सडक दुर्घटनाबाट तीन जनाको ज्यान जानुका साथै ठूलो संख्यामा नागरिक घाइते भएको देखाएको छ। दुर्घटनाका कारण मानवीय क्षति बढ्दै गएपछि सवारी चालकले गति नियन्त्रण, सडक अनुशासन र ट्राफिक नियमको पालना गर्नुपर्ने आवश्यकता पुनः देखिएको छ।