रणभूमी सम्वाददाता बुधबार, मंसिर १०, २०८३
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो ३४८ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित दुई जना चिनियाँ महिला पक्राउ परेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार २०८३ मंसिर ८ गते राति करिब ११:१५ बजे क्याथे प्यासिफिक एयरलाइन्समार्फत हङकङबाट काठमाडौं आएका यात्रुहरूको सुरक्षा जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।
शङ्कास्पद गतिविधिका आधारमा जाँच गर्दा दुवै महिलाले आफ्नो मलद्वार तथा भित्री वस्त्रभित्र प्लास्टिकले बेरेर सुनजस्तो देखिने पहेँलो गोलाकार अर्धठोस पदार्थ लुकाई ल्याएको पाइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा चीनको ग्वाङदोङ स्थायी ठेगाना भएकी ४५ वर्षीया लिन लिना (राहदानी नम्बर ES0537922) र ३५ वर्षीया लिन सिनपिङ (राहदानी नम्बर EN1616065) रहेका छन्।
प्रहरीका अनुसार लिन लिनाको साथबाट पाँच थान सुनजस्तो देखिने पदार्थ बरामद भएको छ। प्लास्टिकसहित उक्त पदार्थको तौल १ हजार ३४० ग्राम रहेको छ। त्यस्तै, लिन सिनपिङको साथबाट तीन थान पदार्थ बरामद भएको छ, जसको प्लास्टिकसहित तौल १ हजार ८ ग्राम रहेको छ।
दुवै महिलाको साथबाट बरामद भएको पदार्थको कुल तौल २ हजार ३४८ ग्राम अर्थात् २ किलो ३४८ ग्राम रहेको छ।
प्रहरीले दुवै महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ। बरामद भएको पदार्थ थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाउने तयारी गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
प्रहरी नायव उपरीक्षक दुर्गाराज न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त घटनाबारे जानकारी दिइएको हो।