०७ मंसिर २०८३, आइतबार
Tags

खैरो हेरोइनजस्तो पदार्थसहित मोरङमा चार जना पक्राउ

रणभूमी सम्वाददाता आइतबार, मंसिर ०७, २०८३

विराटनगर । मोरङ प्रहरीले लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंसिर ६ गते दिउँसो करिब ३ः२० बजे जहदा गाउँपालिका–३ स्थित जयपुर टोलमा लागुऔषधको ओसारपसार तथा कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।

इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी मझारेबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा रहेको एक जिर्ण घरमा खानतलासी गर्ने क्रममा शंकास्पद अवस्थामा रहेका चार जनालाई फेला पारेको थियो।

प्रहरीले उनीहरूको चेकजाँच गर्दा खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ ७ ग्राम ७२० मिलिग्राम बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेमा जहदा गाउँपालिका–३ जयपुर टोलका २४ वर्षीय मञ्जित कुमार यादव तथा कटहरी गाउँपालिका–३ कामत टोलका २६ वर्षीय शिवम सिंह, २७ वर्षीय भरत कामत र ३० वर्षीय दुर्गेश कामत रहेका छन्।

पक्राउ परेका चारै जनालाई बरामद लागुऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्