२४ कार्तिक २०८३, सोमबार
Tags

तिहार मनाउन घर आएका बोधरामको हत्या, श्रीमती र भारतीय प्रेमी पक्राउ

रणभूमी सम्वाददाता सोमबार, कार्तिक २४, २०८३

विराटनगर । मोरङको जहदा गाउँपालिका–२ मोहनपुरमा आफ्नै श्रीमती र उनका भारतीय प्रेमी मिलेर एक पुरुषको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। तिहार मनाउन घर आएका ४० वर्षीय बोधराम सोरेनलाई फलामको रड प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले मृतककी श्रीमतीसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले कात्तिक २३ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार कात्तिक २२ गते राति करिब ९ बजे बोधरामको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। विराटनगर महानगरपालिका–१९ मिलन चोकमा मजदुरी गर्दै आएका बोधराम लक्ष्मीपूजाका दिन तिहार मनाउन जहदा–२ स्थित आफ्नो घर पुगेका थिए। सोही क्रममा श्रीमती कमली बास्के (३५) र भारतको बिहार राज्यस्थित कटिहार जिल्ला निवासी सुनिल मिश्र (२७) मिलेर फलामको रड प्रहार गरी उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार कमली र सुनिलबीच विवाहेत्तर प्रेम सम्बन्ध रहेको र उक्त सम्बन्धबारे बोधरामले थाहा पाएपछि दुवै मिलेर उनको हत्या गरेको खुलेको हो। हत्या गरेपछि घरमा ताल्चा लगाएर दुवै जना बाहिरिएका थिए। घरमा ताल्चा लागेको देखेपछि मृतककी १२ वर्षीया छोरीले छिमेकीसँग अर्को चाबी मागेर घर खोली हेर्दा बोधरामलाई रगताम्मे अवस्थामा फेला पारेपछि घटना सार्वजनिक भएको थियो।

घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी मझारेबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय बुधनगर र इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी निरीक्षक प्रविण घिमिरेको नेतृत्वमा थप प्रहरी टोली खटिएको थियो। प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक अवलोकन तथा सूक्ष्म अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न रहेको आरोपमा भारतीय नागरिक सुनिल मिश्रलाई घटनास्थल नजिकै लुकिछिपी बसेको अवस्थामा तत्कालै पक्राउ गरेको थियो।

त्यसैगरी, घटनापछि फरार रहेकी मृतककी श्रीमती कमली बास्केलाई कात्तिक २३ गते बिहान करिब ७ बजे धनपालथान क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट हत्या गर्न प्रयोग गरिएको फलामको रडसमेत बरामद गरेको छ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्