रणभूमी सम्वाददाता बुधबार, मंसिर १०, २०८३
काठमाडौं । महमा अखाद्य पदार्थ मिसावट गरी उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मिति २०८३ मंसिर ८ गते दिउँसो करिब १ बजे काठमाडौंको टोखा नगरपालिका–१ भण्डारे क्षेत्रमा अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको थियो।
प्रहरीले उक्त स्थानमा पुगेर जाँच गर्ने क्रममा धादिङको सिद्धलेक गाउँपालिका–२ घर भई हाल काठमाडौंको टोखा बस्दै आएका ४४ वर्षीय लक्ष्मण गुरुङलाई नियन्त्रणमा लिएको हो।
उनको साथबाट अखाद्य पदार्थ मिसावट गरिएको भनिएको १५ बाल्टिन मह बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद महको कुल तौल ३८४ किलोग्राम रहेको छ।
पक्राउ परेका गुरुङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्