१५ चैत्र २०८०, बिहिबार
Tags

बाघको छाला, खप्पर, हड्डी लगायतका अंग सहित ३ जना पक्राउ

रणभूमी आइतबार, भाद्र १३, २०७८


तनहुँ / भदौ १३, ब्यास नगरपालिका-५ पतेनीस्थित पक्की पुल नजिक बाख्रेतर्फ जाने कच्ची सडकबाट बाघको अवैध छाला, खप्पर, हड्डी लगायतका अंग सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका-६ सिरुबारी बस्ने ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका-१ ओखल्दी बस्ने ४० वर्षीय सन्जित गुरुङ र सोही नगरपालिका-१ रतनपुर बस्ने ३२ वर्षीय सन्तोष गुरुङ रहेका छन् ।

उनीहरुमध्ये अर्जुनको साथबाट २ थान बाघको छाला, बा.४९ प ५९२३ नम्बरको स्कुटर, १ थान मोबाइल र नगद १ हजार रुपैयाँ , सन्जितको साथबाट १ सय २२ वटा बाघको हड्डीहरु, ग.१८ प ५४११ नम्बरको मोटरसाइकल, १ थान मोबाइल र नगद २ हजार रुपैयाँ र सन्तोषको साथबाट बा.३५ प ५४५१ नम्बरको मोटरसाइकल, नगद ३ हजार ५ सय ८५ रुपैयाँ, १थान लाइटर र १ थान मोबाइल प्रहरीले बरामद गरेको छ ।

सोही ठाउँस्थित सडकमा शंकास्पद गतिविधि गरिरहेका उनीहरुलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज र जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त अंगहरु सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला बन कार्यालय, दमौली तनहुँमा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्