रणभूमी सम्वाददाता शुक्रबार, भाद्र १९, २०८३
विराटनगर । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि विराटनगर महानगरपालिका–१५ निवासी जनार्दन शाहले प्रधानमन्त्री दैवी प्रकोप तथा उद्धार कोषमा ५० हजार रुपैयाँ सहयोग गरेका छन्।
बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति तथा मानवीय पीडा सिर्जना भएको भन्दै शाहले विपत्तिको घडीमा आफूले पनि सक्दो सहयोग गर्ने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरेको बताएका छन्।
शाहले आफ्नो सहयोग सानो भए पनि विपत्तिमा परेका नागरिकप्रतिको ऐक्यबद्धता र मानवताको भावना व्यक्त गर्ने प्रयास भएको बताएका छन्। उनले विपत्तिमा परेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीलाई सहयोग गर्न सबैलाई आ–आफ्नो क्षमताअनुसार योगदान गर्न आग्रहसमेत गरेका छन्।
“मेरो यो सानो सहयोगले अकल्पनीय दुःख त टर्दैन, तर विपत्तिमा परेका आफ्नाहरूलाई हामी तपाईंको साथमा छौँ भन्ने महसुस गराउन सक्छ,” शाहको भनाइ छ।