रणभूमी सम्वाददाता बिहिबार, भाद्र १८, २०८३
सुनसरी । सुनसरीमा एम्बुलेन्सको आवरणमा ठूलो परिमाणमा गाँजा तस्करी गर्ने प्रयास भएको खुलेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वार्टर सुनसरीका अनुसार बिओपी हरिनगरा/हरबोनीको चेकपोइन्ट टोलीले बर्जु गाउँपालिका–४ बाट ६ सय ९ किलो गाँजा बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार ‘एम्बुलेन्स’ लेखिएको टाटा सुमोलाई शंका लागेर जाँच गर्ने क्रममा १७ वटा पोकामा लुकाएर राखिएको गाँजा फेला परेको हो।
गाडी नियन्त्रणमा लिएर जाँच गर्दा यसको अगाडिको नम्बर प्लेट र पछाडिको नम्बर प्लेट फरक–फरक रहेको समेत खुलेको छ। एम्बुलेन्सको आवरणमा फरक नम्बर प्रयोग गर्दै ठूलो परिमाणमा गाँजा ओसारपसार गर्न खोजिएको घटनाले तस्करीको नयाँ शैलीसमेत उजागर गरेको छ।
सशस्त्र प्रहरीले बरामद गाँजा र गाडीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी गरेको जनाएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान तथा गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान खोजिएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।