१४ बैशाख २०८१, शुक्रबार
Tags

बर्जु महोत्सवमा हास्य कलाकार खेसरीलालको कार्यक्रममा झडप, प्रहरीसहित पाँचजना घाइते

रणभूमी डेस्क बुधबार, माघ ०४, २०७९

सुनसरी / बर्जु महोत्सवमा भारतीय हास्य कलाकार खेसरीलाल यादव आउँदा यसवर्ष पनि झडप भएको छ, प्रहरी सहित महोत्सवमा सहभागी पाँचजना दर्शक घाइते भएका छन् ।

सुनसरीको बर्जु गाउँपालिका वडा नं. ६ चिमडी मा आयोजित बर्जु महोत्सवमा भारतीय हास्य कलाकार खेसरीलाल यादव आएर आधा कार्यक्रममै स्टेज छोडेर गए पछि यसवर्ष पनि झडप भएको हो ।

हरेक वर्ष माघमा हुँदै आएको बर्जु महोत्सवमा अघिल्लो वर्ष माघ ४ गते भारतीय कलाकार यादव आउने भनेपनि कार्यक्रम स्थल सम्म नपुग्दा कार्यक्रममा झडप भएको थियो ।

यसवर्ष पनि माघ ३ गते मंगलबार भारतीय हास्य कलाकार यादव सहभागी हुँदा झडप भएको छ । झडपका क्रममा प्रहरी सहित पाँचजना दर्शकहरु घाइते भएका हुन् ।

स्थानीय सहभागीका अनुसार कार्यक्रममा प्रवेश शुुल्क महङ्गो भएको भन्दै केही व्यक्तिहरूले विरोध जनाएपछि पनि झडपको स्थिति आएको हो ।

झडपमा परी घाईते हुनेहरुमा तीनजना प्रहरी र दुई जना दर्शक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार महोत्सवमा टिकटको विषयमा विवाद भएपछि झडपको स्थिति आएको थियो । भीड नियन्त्रण गर्ने क्रममा प्रहरीसहित पाँचजना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

गत वर्ष माघ ४ गते मंगलबार बर्जु महोत्सवमा हास्य कलाकार यादव आउने कार्यक्रम थियो । तर, स्थानीय प्रशासनले उनलाई कार्यक्रममा जान नदिएपछि आक्रोशित भीडले तोडफोड र आगजनी गरेको थियो ।

आक्रोशित भीडले यादवको टिमले प्रयोग गर्ने भारतीय नम्बर प्लेटका चारवटा स्कोरपियोमा आगजनी गरेको थियो । स्टेज तोडफोड गरेको समूहले साउन्ड सिस्टम र कार्यक्रम स्थलमा प्रयोग गरिएको लाइट पनि तोडफोड गरेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्