१२ बैशाख २०८१, बुधबार
Tags

परराष्ट्र सचिव भरतराज पौड्यालसँग विदेश सचिव क्वात्राको औपचारिक भेटवार्ता

रणभूमी डेस्क सोमबार, फाल्गुण ०१, २०७९

काठमाण्डौ / सोमबार बिहान साढे १० बजे काठमाण्डौ आइपुगेका क्वात्राले केहीबेरमै परराष्ट्र सचिव भरतराज पौड्यालसँग औपचारिक भेटवार्ता गर्नेछन्।

भ्रमणका क्रममा क्वात्राले समकक्षी पौड्यालसँग दुई पक्षीय सहकार्यका विभिन्न पक्ष जस्तै कनेक्टिभिटी, उर्जा व्यापार, कृषि, स्वास्थ्यबारे छलफल गर्नेछन्।

दुई मुलुकबीच प्रशासनिक तहको सबैभन्दा उच्च संयन्त्रको बैठकपछि विदेश सचिव क्वात्राले परराष्ट्रमन्त्री विमला पौड्याल राईसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।

नेपालमा रहँदा क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतलाई भेट गर्नेछन्।

२ दिने भ्रमण सकेर विदेश सचिव क्वात्रा मंगलवार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

यसअघि गत भदौमा परराष्ट्र सचिव पौड्यालले भारत भ्रमण गरेका थिए।

क्वात्राको भ्रमण नेपाल-भारतबीच भइरहेको उच्चस्तरिय भ्रमणको निरन्तरता भएको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले उनको भ्रमण दुई देशको सम्बन्धलाई अझ गहिरो बनाउने मौका हुने बताएको छ।

विदेश सचिवको रूपमा क्वात्राको यो पहिलो नेपाल भ्रमण हो भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक उच्च भारतीय कूटनीतिज्ञ काठमाडौं आउन लागेका हुन्।

क्वात्राले भारतीय राजदूतका रूपमा नेपालमा दुई वर्ष बिताएका थिए। गत चैतमा उनी भारतीय विदेश सचिव नियुक्त भएका हुन। उनी सन् १९८८ देखि भारतको कूटनीतिक सेवामा प्रवेश गरेका थिए।

नेपाल आउनुअघि उनले विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालय, अमेरिकास्थित भारतीय दूतावासमा काम गरेका थिए।

यहाँ कमेन्ट गर्नुहोस्