रणभूमी सम्वाददाता मंगलबार, आश्विन १३, २०८३
विराटनगर । मोरङ जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको २२ लाख ६७ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङका अनुसार २०८३ साल असोज १२ गते विभिन्न सीमा इलाकामा खटिएको टोलीले भन्सार छली ल्याइएका सामान बरामद गरेको हो।
बरामद सामानमध्ये नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङबाट ८ लाख ७३ हजार ४६० रुपैयाँ, सीमा सुरक्षा गुल्म रानीबाट १० लाख १ हजार ६५० रुपैयाँ र सशस्त्र प्रहरी सुरक्षा बेस उर्लाबारीबाट ३ लाख ९१ हजार ८९० रुपैयाँ बराबरका सामान रहेका छन्।
प्रहरीका अनुसार बरामद सामग्रीमा २ वटा अटो, १ वटा स्कुटर, १ वटा ठेला रिक्सा, लत्ताकपडा, कस्मेटिक, मेसिनरी तथा किराना सामान लगायत रहेका छन्।
बरामद सामान तथा सवारीसाधनको जम्मा भन्सार मूल्य २२ लाख ६७ हजार रुपैयाँ कायम गरिएको छ। बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय, मोरङमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।