रणभूमी सम्वाददाता बुधबार, भाद्र १७, २०८३
विराटनगर । मोरङको विराटनगरमा ‘दिव्य ज्योति अस्पताल प्रा.लि.’ लेखिएको भ्यानबाट करिब ६० किलो गाँजा बरामद भएको छ। भारतबाट बिरामी ल्याउन–लैजान प्रयोग हुने भनिएको सवारीसाधनबाट ठूलो परिमाणमा गाँजा बरामद भएपछि घटनाले गम्भीर प्रश्न उठाएको छ।
२०८३ भदौ १६ गते राति करिब ११ बजे विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकमा सशस्त्र प्रहरी बल नेपाल बीओपी दरैयाबाट खटिएको एपीएफ टोलीले को १ च ६६२० नम्बरको सुजुकी भ्यान रोकेर चेकजाँच गर्न खोजेको थियो।
तर, सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्न खोजेपछि भ्यान चालक सवारीसाधन नै छाडेर फरार भएका थिए। त्यसपछि प्रहरीले भ्यान खानतलासी गर्दा दुई बोरामा लोड गरिएको अन्दाजी ६० किलो लागुऔषध गाँजा फेला पारेको हो।
सबैभन्दा गम्भीर पक्ष भनेको उक्त भ्यानमा ‘दिव्य ज्योति अस्पताल प्रा.लि.’ लेखिएको हुनु हो। अस्पतालको नाम अंकित सवारीसाधनमा ठूलो परिमाणको लागुऔषध फेला परेपछि अब अनुसन्धानको घेरा चालकसम्म मात्र सीमित नराखी भ्यानको वास्तविक प्रयोग, सवारीसाधन कसको स्वामित्वमा छ, अस्पतालसँग यसको सम्बन्ध के हो र गाँजा ओसारपसारमा कस–कसको संलग्नता छ भन्ने विषयसम्म पुग्नुपर्ने देखिएको छ।
सीमावर्ती क्षेत्रमा भारतबाट बिरामी ल्याउन–लैजान प्रयोग हुने भनिएका यस्ता सवारीसाधनहरू विगतमा पनि शंकास्पद गतिविधिमा प्रयोग भएको तथा आँखा उपचारसँग सम्बन्धित चस्मा, लेन्स, औषधिलगायत सामग्री तस्करीको अवस्थामा फेला परेको घटनाहरू रहेको बताइन्छ। त्यसकारण यसपटक अस्पतालको नाम लेखिएको भ्यानबाटै ६० किलो गाँजा बरामद हुनुले सीमावर्ती क्षेत्रमा स्वास्थ्य सेवाको आवरणमा हुने सम्भावित अवैध कारोबारमाथि थप निगरानी आवश्यक देखाएको छ।
यद्यपि, यस घटनामा अस्पताल स्वयं वा अस्पतालका कुनै व्यक्ति संलग्न रहेको पुष्टि भने भइसकेको छैन। त्यसको यकिन अनुसन्धानपछि मात्र हुनेछ।
बरामद भ्यान र गाँजा हाल बीओपी दरैयामा राखिएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी बरामद सामग्री तथा सवारीसाधन नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
घटनापछि फरार चालकको खोजी भइरहेको छ। अब प्रहरीले भ्यान चालकको पहिचान, भ्यानको स्वामित्व, अस्पतालको नाम कसरी र कुन प्रयोजनका लागि प्रयोग भइरहेको थियो तथा गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान खोजिएको थियो भन्ने विषयमा अनुसन्धान अगाडि बढाउनुपर्ने देखिएको छ।
अस्पतालको नाम लेखिएको सवारीसाधनबाट यति ठूलो परिमाणमा गाँजा बरामद हुनुले सीमावर्ती क्षेत्रमा सेवा र सुविधाको नाममा हुने सम्भावित तस्करी तथा लागुऔषध ओसारपसारमाथि गम्भीर प्रश्न खडा गरेको छ।