रणभुमी डेस्क बुधबार, आश्विन ०२, २०८१
विराटनगर / मोरङ जिल्लाको बिराटनगरमा प्रहरीले दुई छुट्टाछुट्टै कारबाहीमा लागुऔषध गाँजा बोकेको दुई वटा सवारी साधन र चार जना व्यक्तिलाई पक्राउ गरेको छ।
पहिलो घटनामा बिराटनगर महानगरपालिका वडा नं. १५ स्थित दुई नम्बर ढाटमा प्रहरीले एउटा कार जाँच गर्दा ४३ किलोग्राम गाँजा फेला पारेको छ। कारको पछाडिको सिटमा लुकाइएको अवस्थामा गाँजा भेटिएको प्रहरीले जनाएको छ। यस घटनामा कारका चालक गणेश चौधरी र रोजेश परियारलाई पक्राउ गरिएको छ।
दोस्रो घटनामा बिराटनगर-१७ मण्टा पोखरी नजिकै एउटा स्कर्पियो गाडीमा १४६ किलोग्राम गाँजा फेला परेको छ। यस घटनामा गाडीका चालक सुक्षिम राई र यात्री देवराज राईलाई नियन्त्रणमा लिइएको छ।
दुवै घटनामा गरी कुल १८९ किलोग्राम लागुऔषध गाँजा बरामद गरिएको छ। पक्राउ परेका चारै जना व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको संयुक्त टोलीले यो कारबाही गरेको हो। गोप्य सूचनाका आधारमा यो अपरेसन सफल भएको प्रहरीले बताएको छ।