
रणभूमी डेस्क बुधबार, बैशाख १७, २०८२

सप्तरी / सप्तरीको तिरहुत गाउँपालिकामा प्रहरीले भारी मात्रामा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आज बिहान ३ बजेतिर तिरहुत गाउँपालिका वडा नं. २ बडहरास्थित हुलाकी सडकखण्डमा इलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीबाट खटिएको प्रहरी टोलीले फत्तेपुरबाट डिमनतर्फ जाँदै गरेको प्र१-०२-००३ ह २९३४ नं. को अटोमा जाँच गर्दा ५८ केजी लागूऔषध गाँजा फेला पारेको हो।
प्रहरी निरीक्षक लेख बहादुर विष्टको कमाण्डमा खटिएको गस्ती टोलीले अटोभित्र सेतो प्लास्टिकको २ वटा पोका र सेता बोराभित्र लुकाइएको अवस्थामा उक्त गाँजा फेला पारेको हो।
प्रहरीले अटो चालक उदयपुर बेलका नगरपालिका-३ मोरङ्गे टोल निवासी ४१ वर्षीय जयराम दाहाललाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका दाहालमाथि सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।