
रणभूमी डेस्क बिहिबार, बैशाख १८, २०८२

झापा / झापाको बाह्रदशी गाउँपालिका-५ मा अवैध रूपमा प्रतिबन्धित तथा नियन्त्रित औषधिहरूको बिक्री गरिरहेको आरोपमा बिक्रम बिकास मेडिकलकी संचालिका बन्दना पोखरेललाई प्रहरीले पक्राउ गरेको छ।
३९ वर्षीय पोखरेलको मेडिकलबाट प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित औषधिहरू बरामद गरेको छ। गत वैशाख १७ गते जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले मेडिकलमा छापा मारी ट्रामाडोल ७९५ ट्याब्लेट, एन्टिकफ ४७० ट्याब्लेट र डाइक्लोमिन ३,९८० ट्याब्लेट बरामद गरेको छ।
स्थानीय सूचनाका आधारमा प्रहरीले उक्त मेडिकलमा छापा मारेको थियो। विशेषगरी युवाहरूमा लागूऔषधको रूपमा दुरुपयोग हुने यस्ता नियन्त्रित औषधिहरूको बिना प्रेस्क्रिप्सन बिक्री गर्ने क्रम बढ्दै गएको स्थानीयहरूको गुनासो थियो।
प्रहरीका अनुसार पक्राउ परेकी पोखरेलमाथि औषधि ऐन अन्तर्गत कारबाही हुनेछ र हाल उनको थप अनुसन्धान भइरहेको छ। यस्ता नियन्त्रित औषधिहरूको अवैध बिक्री विशेषगरी ग्रामीण क्षेत्रमा चिन्ताको विषय बन्दै गएको बताइएको छ।