१९ बैशाख २०८२, शुक्रबार
Tags

प्रकृति लम्साल पछि भारतको कलिंगा इन्स्टिच्युटमा फेरी एक नेपाली विद्यार्थी प्रिसा शाह मृत फेला

रणभूमी डेस्क शुक्रबार, बैशाख १९, २०८२

बिहीबार साँझ भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत वीरगन्जकी नेपाली विद्यार्थी प्रिसा शाह मृतावस्थामा फेला परेकी छिन्। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।

शाह केआईआईटीको दोस्रो सेमेस्टरमा अध्ययनरत थिइन् र विद्यार्थी आवासमा बस्दै आएकी थिइन्। उनीसँगै अध्ययनरत रुपन्देहीका विद्यार्थी सुयोग लम्सालका अनुसार हाल प्रहरीले विद्यार्थीहरूलाई सोधपुछ गरिरहेको छ।

“यो अप्रत्याशित घटनाले नेपाली मात्र होइन, सम्पूर्ण विद्यार्थी समुदायलाई स्तब्ध बनाएको छ। कोही पनि बोल्न सकिरहेका छैनन् र घटनाको विस्तृत जानकारी अझै सार्वजनिक भएको छैन,” लम्सालले बताए।

वीरगन्जकी शाह अर्की एक साथीसँग कोठा शेयर गर्दै आएकी थिइन्। लम्सालका अनुसार शाह कक्षामा मेहनती र शालीन स्वभावकी थिइन्।

यसअघि गत फागुन ४ मा पनि केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल आवासमा मृत फेला परेपछि विद्यार्थीहरूले आन्दोलन गरेका थिए। रुपन्देहीकी लम्सालले आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएको भन्दै उनको परिवारले उजुरी दिएको थियो। त्यसपछि कलेज प्रशासनले आलोचनाको सामना गर्दै माफी मागेको र सम्बन्धित कर्मचारीमाथि कारबाहीको सिफारिस गरेको थियो।
करिब १,५०० नेपाली विद्यार्थी अध्ययनरत यस शैक्षिक संस्थामा लगातार यस्ता घटना भएपछि नेपाली विद्यार्थीहरूमा थप चिन्ता बढेको छ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर, एसएसपी सञ्जीव शर्मा दासले घटनाको पुष्टि गरेका छन्। भुवनेश्वर प्रहरीसँगको कुराकानीमा बिहीबार साँझ करिब ८ बजे शाहलाई कोठामा झुन्डिएको अवस्थामा फेला पारिएको जानकारी प्राप्त भएको छ। प्रहरीले शाहको परिवार नपुगेसम्म शवपरीक्षण नगर्ने जनाएको त्यहाँ रहेका नेपाली विद्यार्थीहरूले बताएका छन्।

यहाँ कमेन्ट गर्नुहोस्