२० बैशाख २०८२, शनिबार
Tags

कलेज प्रशासनको शंकास्पद व्यवहार: प्रिसा साहको मृत्यु प्रकरणमा उठ्दै प्रश्नहरू

रणभूमी डेस्क शुक्रबार, बैशाख १९, २०८२

केआईआईटी विश्वविद्यालयको होस्टेलमा नेपाली छात्रा प्रिसा साहको रहस्यमय मृत्यु प्रकरणमा थप रहस्य थपिएको छ। विशेषगरी घटना प्रहरीलाई सूचित गरेपछि पनि कलेज प्रशासनले प्रहरी आइपुग्नुअघि नै शव स्थानान्तरण गरेको तथ्यले अनुसन्धानमा नयाँ मोड ल्याएको छ।

ओडिशाटीभी अनलाइनले खुलासा गरेअनुसार, होस्टेलको १११ नम्बर कोठामा झुन्डिएको अवस्थामा भेटिएको भनिएको प्रिसाको शव प्रहरी टोली पुग्नुअघि नै विश्वविद्यालयका कर्मचारीहरूले घटनास्थलबाट उठाएर अन्यत्र लगेका थिए। प्रश्न उठ्छ – किन कलेज प्रशासनले यसरी हतारमा शव स्थानान्तरण गर्नुपर्‍यो?

इन्फोसिटी प्रहरीका कन्स्टेबल निराकर खटुआको बयानले यस प्रकरणलाई थप शंकास्पद बनाएको छ। उनका अनुसार प्रहरी टोली घटनास्थल पुग्दा शव झुन्डिएको अवस्थामा थिएन, बरु खाटमा पल्टिएको अवस्थामा थियो। प्रहरीले घटनास्थलबाट शव ननिकालेको र केवल कलेजको मेडिकल इमर्जेन्सी वार्डबाट एम्स अस्पतालमा पोस्टमार्टमका लागि लगेको स्पष्ट पारेका छन्।

यही होस्टेलमा तीन महिनाभित्र दोस्रो नेपाली छात्राको मृत्यु हुनु र प्रशासनको यस्तो कार्यशैलीले अनुसन्धानमा गम्भीर प्रश्नहरू उठाएको छ। यसअघि २० वर्षीया प्रकृति लम्साल पनि सोही होस्टेलमा मृत फेला परेकी थिइन्।

कलेज प्रशासनले किन फरेन्सिक प्रमाण संकलनमा बाधा पुर्‍याउने गरी शव स्थानान्तरण गरे? झुन्डिएको अवस्थामा भेटिएको भनिएको शव किन खाटमा पल्टिएको अवस्थामा थियो? किन यो विषयमा विश्वविद्यालय प्रशासन मौन छ? के यसभित्र केही लुकाउने प्रयास त छैन?

ओडिशाटीभी अनलाइनले औँल्याएझैं, घटनाका यी अनौठा पक्षहरूले कलेज प्रशासनप्रति आशंका बढाएका छन् र यस प्रकरणमा अतिरिक्त अनुसन्धानको आवश्यकता देखिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्