२० बैशाख २०८२, शनिबार
Tags

उदयपुरमा स्कारपियो दुर्घटना: एक जनाको मृत्यु, ६ जना घाइते

रणभूमी डेस्क शुक्रबार, बैशाख १९, २०८२

उदयपुर / उदयपुरको कटारी नगरपालिका-६ स्थित मदन भण्डारी लोकमार्गमा मे.१ च ३०४० नम्बरको स्कारपियो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

वैशाख १८ गते अपरान्ह चितवनबाट झापातर्फ जाँदै गरेको उक्त स्कारपियो गाडी अनियन्त्रित भई सडक किनारमा राखिएको फलामको बेरियरमा ठोक्किएको थियो।

दुर्घटनामा परी घाइते भएका सबै यात्रुहरूलाई तत्काल प्रहरीले उद्धार गरी उपचारका लागि कटारी अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउनासाथ झापा दमक नगरपालिका-३ का ५५ वर्षीय माधव बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि गाडी चालक दमक-९ का ३८ वर्षीय देवेन्द्र तामाङलाई उपचारपश्चात प्रहरीले नियन्त्रणमा लिएको छ।

घाइते अन्य पाँच जना दमक-१० का ४९ वर्षीय राजेन्द्र प्रसाद भण्डारी, दमक-१ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, दमक-६ का ५४ वर्षीय कमल श्रेष्ठ, दमक-२ का ३८ वर्षीय नविन खतिवडा र गौरादह नगरपालिका-१ का ५४ वर्षीय भुवन दाहाललाई थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर पठाइएको छ।

दुर्घटनाको कारण र गाडीको अवस्थाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्