
रणभूमी डेस्क शनिबार, बैशाख २०, २०८२

वीरगञ्ज / सशस्त्र प्रहरी बलको टोलीले वीरगञ्ज भन्सारमा चेकजाँचको क्रममा भारतीय नम्बर प्लेटको गाडीबाट ९ लाख ५९ हजार नेपाली रुपैयाँ बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वको टोलीले बरिष्ठ हवल्दार मान बहादुर दमाई सहितको ९ जनाको चेक प्वाइन्ट ड्युटी टोलीले भारतबाट आउँदै गरेको बिआर २२ पी ८३०० नम्बरको सेतो रङको स्कार्पियो गाडी जाँच गर्दा उक्त रकम फेला परेको हो।
जानकारी अनुसार उक्त रकम गाडीको सिट पछाडिको पकेट भित्र कपडाको सेतो झोला र सिट माथि राखिएको र्याग्जिनको खैरो रङको साइड व्यागभित्र लुकाइएको थियो। गाडीमा सवार भारतका तीन जना नागरिकहरूले भन्सार छली चोरी पैठारी गरी उक्त रकम ल्याइरहेको अवस्थामा पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा भारत पश्चिम चम्पारणका ५९ वर्षीय विजय प्रसाद, ४६ वर्षीय मनोज कुमार सहनी र ४३ वर्षीय सन्तोष कुमार श्रीवास्तव रहेका छन्। उक्त रकमकाे श्रोत खुलाउन नसकेपछि बरामद गाडी सहितको मूल्यांकन गरी भन्सार दाखिला मूल्य ३० लाख रुपैयाँ कायम गरेको गुल्मले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरू र बरामद गाडी तथा रकम आवश्यक अनुसन्धान र कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ। प्रहरीका अनुसार अवैध रूपमा रकम ओसारपसार गर्ने क्रम बढ्दै गएकोले सीमा क्षेत्रमा विशेष निगरानी बढाइएको छ।