
रणभूमी डेस्क मंगलबार, बैशाख २३, २०८२

विराटनगर / धनकुटा र उदयपुरमा बुधबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
धनकुटाको कोशी लोकमार्गमा बिहान सवा १० बजे धरानबाट भोजपुरतर्फ जाँदै गरेको को.१ख २१७७ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो। दुर्घटनामा चालकसहित १४ जना घाइते भएका थिए।
प्रहरीका अनुसार दुर्घटनामा परेका घाइतेहरूलाई तत्काल उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको थियो। उपचारको क्रममा बस चालक सुनसरी धरानका ५१ वर्षीय रुद्र तामाङ र यात्री भोजपुरका ५८ वर्षीय लिला बहादुर श्रेष्ठको धरान घोपामा मृत्यु भयो। त्यस्तै, धनकुटाकी ७३ वर्षीया कृष्ण कुमारी राई भुजेलको जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते अन्य ११ जनाको धरान घोपामा उपचार भइरहेको छ।
सोही दिन अपराह्न पौने ४ बजे उदयपुरको चौदण्डीगढी नगरपालिका-४ स्थित मदन भण्डारी लोकमार्गमा अर्को दुर्घटना भयो। खोटाङबाट इटहरीतर्फ जन्ती बोकेर आउँदै गरेको को.१ख ४७२१ नम्बरको बसबाट ओर्लिएर सडक पार गर्ने क्रममा ना.३त ८१० नम्बरको ट्याक्टरले ठक्कर दिँदा हलेसी तुवाचुङकी ४० वर्षीया गिता परियार र सुनसरी इटहरीका २३ वर्षीय युजन राई घाइते भएका थिए।
घाइते परियारको नगर अस्पताल बेल्टारमा उपचारको क्रममा मृत्यु भएको छ भने राईको विराटनगर न्युरो अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न ट्याक्टर चालक उदयपुरका ३० वर्षीय विजय बि.क. र बस चालक उदयपुरकै ३६ वर्षीय पुरुषोत्तम पोखरेललाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको छ।