२६ बैशाख २०८२, शुक्रबार
Tags

वैदेशिक रोजगारी पठाउने नाममा ४० लाख ठगी, तीन जना पक्राउ

रणभूमी डेस्क शुक्रबार, बैशाख २६, २०८२

काठमाडौं / वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले बुधबार र बिहीबार गरी तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-२ निवासी धादिङका ३२ वर्षीय अर्जुन सुर्खेती, काठमाडौं तार्केश्वर नगरपालिका-५ का २४ वर्षीय रूपेश ढकाल र दाङ बबई गाउँपालिका-५ की ५० वर्षीय मोतीसरा खत्री रहेका छन्।

प्रहरीका अनुसार, अर्जुन र रूपेशले जर्मनी पठाइदिने प्रलोभन देखाई दुई जना पीडितबाट ३५ लाख रुपैयाँ असुलेका थिए। त्यसैगरी मोतीसराले अमेरिका पठाइदिने भन्दै एक जना पीडितबाट ५ लाख रुपैयाँ लिएकी थिइन्।

पीडितहरूबाट रकम असुलेपछि आरोपितहरू सम्पर्कविहीन भएका थिए। पीडितहरूको उजुरीका आधारमा प्रहरीले अर्जुनलाई बुढानिलकण्ठ-८ बाट र रूपेशलाई काठमाडौं महानगरपालिका-१२ बाट बुधबार पक्राउ गरेको थियो। मोतीसरालाई भने काठमाडौं महानगरपालिका-१३ बाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्