१५ साउन २०८२, बिहिबार
Tags

ज्यान जोगाउने अस्पताल नै भयो बद्नाम: प्रहरीले मृत घोषणा गरेकी बालिका अझै उपचाररत

पवन शाह मंगलबार, साउन १३, २०८२

विराटनगर / विराटनगर–६ की ४ वर्षीया आरुषी पासवानको अवस्था गम्भीर रहे पनि उपचार भइरहेको बेला प्रदेश प्रहरी कार्यालय विराटनगरले उनलाई मृत घोषणा गरेकोमा अस्पताल र परिवारले गम्भीर आपत्ति जनाएका छन्।

बालिका आरुषी आइतबार दिउँसो घरनजिकैको धुधुवा खोलामा खेल्ने क्रममा डुबेकी थिइन्। उनलाई तत्काल विराटनगर–११ स्थित गोल्डेन अस्पताल लगिएको थियो। अस्पतालका सञ्चालक सनातन मण्डलका अनुसार गम्भीर अवस्थामा पुगेकी बालिकालाई चिकित्सक टोलीले करिब ३० मिनेटको सिपीआर (हृदय पुनः सञ्चालन प्रक्रिया) गरी ज्यान जोगाउन सफल भएका थिए।

‘बालिकाको मुटु रोकिएको थियो, तर चिकित्सकको प्रयासले पुनः सञ्चालन भयो,’ मण्डलले जानकारी दिए। उनको अवस्था गम्भीर रहेकाले सोमबार बिहान नोबेल मेडिकल कलेज रेफर गरिएको हो। हाल उनी नोबेल अस्पतालको एनआईसीयू कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेकी छिन्।

तर कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सोमबार बिहान ११:५३ बजे फेसबुक पेजमार्फत बालिकाको मृत्यु भएको सूचना सार्वजनिक गरेको थियो। सो सूचनामा आरुषी पासवानको डुबेर मृत्यु भएको र गोल्डेन अस्पतालमा ल्याइएपछि चिकित्सकले मृत घोषणा गरेको उल्लेख गरिएको छ।

बालिकाको उपचार अझै चलिरहेको अवस्थामा मृत्यु घोषणा गरिएकोमा परिवारजन र अस्पताल दुवैले आपत्ति जनाएका छन्। काका गणेश पासवानका अनुसार मंगलबार बिहान बालिकाले एकपटक आँखा खोलेर हात चलाएको देखिएको छ। ‘बोलेकी छैन तर उपचार भइरहेको छ,’ उनले भने।

गोल्डेन अस्पतालले प्रहरीको सूचनाको कारण अस्पतालको छविमा असर परेको प्रतिक्रिया दिएको छ। अस्पताल प्रशासनले गलत सूचनाका कारण आइतबार साँझ अस्पताल परिसरमा भीडभाडसमेत बढेको र झैझगडा हुन खोजेको जनाएको छ।

‘प्रहरीलाई तुरुन्तै खबर गरी अवस्था नियन्त्रणमा लिइयो,’ अस्पताल प्रमुख मो. ज्याउल हकले जानकारी दिए। अस्पतालले यस विषयमा मोरङ जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ र कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।

हालसम्म कोशी प्रदेश प्रहरी कार्यालयले आफ्नो फेसबुक पेजमा रहेको उक्त सूचना हटाएको छैन। यसैबीच, नोबेल मेडिकल कलेजले भने बालिकाको उपचार भइरहेको पुष्टि गरेको छ।

यहाँ कमेन्ट गर्नुहोस्