पवन शाह बुधबार, मंसिर ०३, २०८२
विराटनगर / मंगलबार साँझ करिब साढे ५ बजे भारततर्फ जाँदै गरेका ६ जना नाबालिक नेपाली चेलीलाई सशस्त्र प्रहरीले नोचा गडेरिया नजिकैबाट उद्धार गरेको छ। ती बालिकाहरूको उमेर १५, १६, १७ र १८ वर्ष रहेको प्रहरीले जनाएको छ।
ती चेलीहरू तीन अलग ठाउँबाट आएको बुझिएको छ। उनीहरूलाई एक पुरुषले फेसबुक म्यासेन्जरमार्फत भारतमा भेट्ने भन्दै बोलाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। सोही पुरुषसँग बालिकाहरूको लगातार कुराकानी पनि भेटिएको प्रहरी स्रोतले बतायो।
भारततर्फ जाँदै गर्दा नियमित गस्तीमा रहेका सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट नोचाको टोलीले बालिकाहरूको गतिविधि शंकास्पद देखेपछि सोधपुछ गरेको थियो। सोधपुछपछि उनीहरू बिना अभिभावक सीमातर्फ जाँदै गरेको पुष्टि भएको हो।
उद्धार गरिएको बालिकाहरूलाई अभिभावकसरह व्यवहार गर्दै वि.ओ.पी. नोचाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक मान बहादुर कटुवालले आवश्यक परामर्श र बुझाइ दिएका थिए। त्यसपछि उनीहरूलाई आवश्यक अनुसन्धान र सुरक्षित उद्धार प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा बुझाइएको छ।
इलाका प्रहरी कार्यालयले थप अनुसन्धानपछि बालिकाहरूलाई आफन्तजनको जिम्मा लगाइने जनाएको छ।
नेपालका धेरै चेलीहरू आज पनि सामाजिक सञ्जालको अनियन्त्रित पहुँच, अभिभावकको कम ध्यान र जनचेतनाको अभावका कारण जोखिममा परिरहेका छन्। फेसबुक, म्यासेन्जरजस्ता माध्यमबाट अपरिचित व्यक्तिले विश्वास जित्ने, लोभ देखाउने र गलत दिशामा लैजाने घटना बढ्दै छन्।
गरिबी, बेरोजगारी र अवसरको कमीले धेरै किशोरीहरू सजिलै फस्न सक्छन्। केही दलालहरूले मिठा सपना देखाएर भारतको बाटो लगाउने, कामको आश्वासन दिने, अनि अन्ततः बेचबिखनमा जालो पसाउने प्रयास रोकिएको छैन।
यस्ता धेरै घटना सार्वजनिक भइसके पनि यो क्रम थामिन सकेको छैन। चेतनाको कमी, परिवारको कमजोर निगरानी र सामाजिक सञ्जालको अनियन्त्रित प्रयोगका कारण जोखिम अझै कायमै छ।
यसलाई रोक्न अभिभावकको सतर्कता, छोरीबेटीसँग खुला संवाद, विद्यालय र समुदायमा चेतनामूलक कार्यक्रम, र सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे निरन्तर प्रशिक्षण आवश्यक छ।
समुदाय, परिवार र प्रहरी सबै मिलेर काम गर्न सके, धेरै चेलीहरू बेचबिखनको जालोबाट जोगिन सक्छन्।