०१ माघ २०८२, बिहिबार
Tags

सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा पाँचको मृ*त्यु तीन घाइते, चालक फरार

रणभूमी सम्वाददाता बिहिबार, माघ ०१, २०८२

सुनसरी / सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८, सोनीयाहीमा बिहीबार बिहान मालबाहक ट्रक दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विराटनगरबाट मार्बल बोकेर राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक बिहान करिब ५:३० बजे लौकही हुलाकी मार्गमा अनियन्त्रित भई पल्टिएको हो।

प्रहरीका अनुसार ट्रकमा लोड गरिएको मार्बलले किचिँदा मार्बलमाथि बसेका पाँच जना कामदारको घटनास्थलमै मृत्यु भएको हो। सुनसरीका डीएसपी चन्द्र खड्काले मार्बलले किचिएर उनीहरूको ज्यान गएको पुष्टि गरेका छन्।

दुर्घटनामा ३२ वर्षीय धिरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेश गुरुङ, ५० वर्षीय टंक गुरुङ, अन्दाजी ४५ वर्षीय चन्द्र गुरुङ र २८ वर्षीय निशु गुरुङको मृत्यु भएको छ। सबै मृतक बर्जु गाउँपालिका–१ का बासिन्दा तथा एउटै गाउँका रहेको प्रहरीले जनाएको छ।

यस दुर्घटनामा तीन जना सामान्य घाइते भएका छन्। उनीहरूको अवस्था खतरामुक्त रहेको र उपचार भइरहेको प्रहरीको भनाइ छ।

दुर्घटनापछि ट्रक चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्