रणभूमी सम्वाददाता बिहिबार, फाल्गुण २८, २०८२
सुनसरी / सुनसरीको हरिनगरा गाउँपालिका–३ बाट प्रहरीले ठूलो परिमाणमा गाँजासहित सवारी साधन नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार (२०८२ फागुन २७) राति करिब ११ः१० बजे गौतमपुरबाट हरिनगरा तर्फ जाँदै गरेको प्र.१–०२–००४ ह ५६३९ नम्बरको सिटी सफारीलाई प्रहरी चौकी भुटाहाबाट खटिएको गस्ती टोलीले रोक्न खोजेको थियो। तर सिटी सफारी चालकले नरोकी भागेपछि प्रहरीले शंका गरी पछ्याएको थियो।
इलाका प्रहरी कार्यालय हरिनगरा, प्रहरी चौकी भुटाहा र अस्थायी प्रहरी चौकी गौतमपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले पछ्याउने क्रममा हरिनगरा–३ स्थित वडा कार्यालय नजिक चालकले सिटी सफारी छाडेर फरार भएको प्रहरीले जनाएको छ।
प्रहरीले सवारी साधन जाँच गर्दा रातो त्रिपालले छोपेर राखिएको अवस्थामा प्लास्टिकका ८ वटा बोरामा करिब २१७ केजी गाँजा जस्तो देखिने पदार्थ फेला परेको थियो।
बरामद गरिएको लागूऔषधसहित सिटी सफारीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। फरार चालकको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।