रणभूमी सम्वाददाता बिहिबार, फाल्गुण २८, २०८२
काठमाडौं / प्रहरीले देशका विभिन्न जिल्लाबाट अवैध तथा नियन्त्रित लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार काठमाडौं, बर्दिया, कैलाली, सुनसरी, नवलपरासी पूर्व, दाङ र रूपन्देहीका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
काठमाडौं महानगरपालिका–६ क्षेत्रबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्रामसहित मोरङ घर भएका २८ वर्षीय सुजन स्याङ्बो पक्राउ परेका छन्। उनलाई बुधबार राति प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो।
बर्दियाको बढैयाताल गाउँपालिका–२ बाट ब्राउनसुगरजस्तो देखिने पदार्थ २ ग्राम ६ सय ८० मिलिग्रामसहित बाँके कोहलपुर नगरपालिका–११ लोकनगर बस्ने २३ वर्षीय लक्षु विकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उनलाई इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
कैलालीको धनगढी उपमहानगरपालिका–२ बाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ३ ग्रामसहित भारत लखिमपुर खिरी पलिया बस्ने ३७ वर्षीय मनुवर अली र ३९ वर्षीय महम्मद असरफ अलीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो।
सुनसरीको दुहबी नगरपालिका–९ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ हजार ट्याब्लेट र स्पास्पेन ६ हजार ४ सय ट्याब्लेटसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गढी गाउँपालिका–३ बस्ने ५४ वर्षीय पवनलाल थारू र इटहरी उपमहानगरपालिका–११ बस्ने ३३ वर्षीय महमद अवजल रहेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरसमेतबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूले प्रयोग गरेको को.५ प ८०९७ र को.११ प २९०१ नम्बरका मोटरसाइकल पनि बरामद गरेको छ।
नवलपरासी पूर्वको कावासोती नगरपालिका–१६ चालिसकिलोबाट नियन्त्रित लागूऔषध डाइजेपाम १९ एम्पुल, प्रोमेथाजाइन १९ एम्पुल र बुप्रेनोर्फिन १९ एम्पुलसहित धनकुटा सहिदभूमि गाउँपालिका–४ बस्ने २४ वर्षीय प्रज्वल राई पक्राउ परेका छन्। उनलाई बुटवलबाट पोखरातर्फ जाँदै गरेको बा.२ ख ३३३ नम्बरको बसमा सवार अवस्थामा जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
दाङको तुलसीपुर उपमहानगरपालिका–६ बनकट्टाबाट ट्रामाडोल १ सय ५५ ट्याब्लेटसहित तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क बस्ने २२ वर्षीय भुपेन्द्र श्रीस मगरसहित दुई जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
त्यसैगरी दाङकै लमही नगरपालिका–३ टिकुलीगढबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्रामसहित २९ वर्षीय माधव चौधरीसहित चार जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय लमहीबाट खटिएको टोलीले माधव चौधरीको घरमा तलासी गर्दा उक्त पदार्थ फेला पारेपछि उनीहरूलाई पक्राउ गरिएको हो।
यस्तै रूपन्देहीको सियारी गाउँपालिका–२ सेमराबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम र नगद ३२ हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मायादेवी गाउँपालिका–३ कमहरिया बस्ने ३२ वर्षीय अमेरिका केवट र सोही गाउँपालिका–२ कलीकमहवा बस्ने २९ वर्षीय भान प्रकाश मल्लाह रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले लु.६२ प ८१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको हो।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।