२८ जेठ २०८३, बिहिबार
Tags

वानटन पिकअप र मोटरसाइकलसहित ९२२ किलोभन्दा बढी गाँजा बरामद

रणभूमी सम्वाददाता बिहिबार, जेठ २८, २०८३

विराटनगर / मोरङको जहदा गाउँपालिका–७ महादेवकोल क्षेत्रमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय सोराभाग, बीओपी नोचा र बीओपी तारेगामाबाट खटिएको संयुक्त टोलीले बुधबार राति करिब १२ः१५ बजे लक्ष्मनियाबाट तारेगामातर्फ जाँदै गरेको को १ ख ७०२२ नम्बरको वानटन पिकअप गाडीलाई पछ्याएको थियो।

प्रहरीका अनुसार उक्त पिकअपलाई BR 38 Z 7452 नम्बरको भारतीय मोटरसाइकलले स्कर्टिङ गरिरहेको अवस्थामा शंका लागेपछि टोलीले पछ्याएको थियो। प्रहरीको गतिविधि देखेपछि पिकअप र मोटरसाइकल चालकहरू सवारी साधन छाडेर फरार भएका थिए।

त्यसपछि नियन्त्रणमा लिइएको पिकअप गाडीलाई सीमा सुरक्षा गुल्म मुख्यालय सोराभाग ल्याई जाँच गर्दा धानको भुसको बोराले छोपेर राखिएको अवस्थामा २९ पोका प्रतिबन्धित लागूऔषध गाँजा फेला परेको थियो। बरामद गाँजाको कुल तौल ९२२ दशमलव २ किलोग्राम रहेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गाँजा, पिकअप गाडी र मोटरसाइकल आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अघि बढाइएको छ। फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्