रणभूमी सम्वाददाता बुधबार, आषाढ ३१, २०८३
विराटनगर / जिल्ला प्रहरी कार्यालय मोरङले विभिन्न स्थानमा चोरीमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गर्दै चोरीका गहना, नगद तथा विभिन्न इलेक्ट्रोनिक्स सामग्री बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा झापा दमक नगरपालिका–९ का २८ वर्षीय तेजकुमार साहको डेरा खानतलासी गर्दा विभिन्न चोरीका सामान तथा चोरीमा प्रयोग गरिएका औजार फेला परेका थिए। सो क्रममा दमक–१० का ४० वर्षीय अमर राना मगरलाई पनि नियन्त्रणमा लिइएको हो। अनुसन्धानका क्रममा चोरीका सामान खरिद गरेको खुलेपछि दमक–३ का ५५ वर्षीय गणेश राजवंशीलाई समेत उर्लाबारी–६ मावाबुङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट सुनका विभिन्न गहना, चाँदीका गहना, नगद, ड्रोन, ल्यापटप, कम्प्युटरका सामान, मोबाइल, एलईडी बत्ती, औजार, क्यामेरा, हार्डडिस्क, सेल्फी स्टिक, रेनकोटलगायतका सामग्री बरामद गरेको छ। साथै गणेश राजवंशीको साथबाट रु. ५,५०० नगद समेत बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनामाथि चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।