०५ साउन २०८३, मंगलबार
Tags

सुकुना मावि दुर्व्यवहार प्रकरणमा थप एक जना नृत्य प्रशिक्षक पक्राउ

रणभूमी सम्वाददाता मंगलबार, साउन ०५, २०८३

विराटनगर / मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा विद्यार्थीमाथि शिक्षकहरूले दुर्व्यवहार गरेको आरोपमा भइरहेको अनुसन्धानका क्रममा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार झापा बुद्धशान्ति गाउँपालिका–७ निवासी ३१ वर्षीय भीमप्रसाद नेपाललाई घटनामा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको हो।

यसअघि प्रहरीले सोही घटनामा संलग्न रहेको आरोपमा सुन्दरहरैँचा–१० निवासी ४० वर्षीय प्रदीप भट्टराई, ३० वर्षीय किशोरलाल गच्छदार र ३५ वर्षीय अविरल मारासिनीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको थियो।

प्रहरीका अनुसार विद्यालयका विद्यार्थीहरूले शिक्षकबाट दुर्व्यवहार भएको भन्दै विरोध प्रदर्शन गरेपछि घटनाको अनुसन्धान सुरु गरिएको हो। अनुसन्धानका क्रममा अन्य व्यक्तिहरूको पनि संलग्नता खुलेकाले थप पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको निष्पक्ष अनुसन्धान जारी रहेको उल्लेख गर्दै अनुसन्धानबाट संलग्न देखिने अन्य व्यक्तिहरूमाथि पनि कानुनबमोजिम कारबाही हुने जनाएको छ। साथै अनुसन्धानलाई असर पर्ने गरी सामाजिक सञ्जालमा आधारहीन टिप्पणी वा अफवाह नफैलाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

यहाँ कमेन्ट गर्नुहोस्