रणभूमी सम्वाददाता बिहिबार, साउन ०७, २०८३
विराटनगर / मोरङको कानेपोखरी गाउँपालिकामा भएको हिट एन्ड रन (Hit & Run) घटनामा फरार रहेका स्कर्पियो चालकलाई प्रहरीले सवारी साधनसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २०८३ असार ३ गते कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा नम्बर नखुलेको सवारी साधनले पैदलयात्री त्रिवेणी चोक निवासी ६० वर्षीय गोविन्द तिम्सिनालाई ठक्कर दिएर फरार भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका तिम्सिनाको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले सवारी ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो।
घटनापछि फरार सवारी र चालकको खोजीका क्रममा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले ट्राफिक प्रहरीसँगको समन्वयमा साउन ६ गते राति करिब १० बजे सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित हेवी इक्विपमेन्ट सडक डिभिजन कार्यालय परिसरमा लुकाइराखिएको बा ३ च २२२६ नम्बरको स्कर्पियो फेला पारेको हो।
उक्त स्कर्पियोका चालक सिरहाको सुखीपुर नगरपालिका–८ निवासी ४४ वर्षीय राम उदगार मण्डल लाई जिल्ला प्रहरी कार्यालय सुनसरीसँगको समन्वयमा सवारी साधनसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि मोरङ ल्याइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।