रणभूमी सम्वाददाता सोमबार, साउन ११, २०८३
विराटनगर / सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउने सोमबारको बोलबम यात्राका क्रममा डिजे बजाउने विषयबाट सुरु भएको विवाद आइतबार मध्यराति दुई समुदायबीचको हिंसात्मक झडपमा परिणत हुँदा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ। घटनापछि प्रशासनले देवानगञ्ज र हरिनगर गाउँपालिकाभरि निषेधाज्ञा जारी गरेको छ भने गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखहरूसँग घटनाबारे छलफल थालेका छन्।
प्रहरीका अनुसार भीड नियन्त्रणका क्रममा चलाइएको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहता को मृत्यु भएको हो। प्रारम्भिक जानकारीअनुसार साउने सोमबारको बोलबम यात्राका लागि ठूलो आवाजमा डिजे बजाउने विषयलाई लिएर दुई पक्षबीच विवाद सुरु भएको थियो। स्थानीय स्रोतका अनुसार त्यसअघि सार्वजनिक स्थानमा राखिएको झण्डा हटाएर अर्को झण्डा राखिएको विषयले पनि तनाव बढाएको थियो। त्यसपछि स्थिति उग्र बन्दै ढुंगामुढा, तोडफोड र आगजनीसम्म पुगेको प्रहरीले जनाएको छ।
स्थिति नियन्त्रणबाहिर गएपछि प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको, त्यसपछि हवाई फायर गरेको र अन्ततः गोली चलाउनुपरेको जनाएको छ। सुरक्षाकर्मीका अनुसार नेपाल प्रहरीले ३ राउन्ड तथा सशस्त्र प्रहरीले ७ राउन्ड हवाई फायर गरेको थियो। घटनास्थलमा सशस्त्र प्रहरीले थप फायर गरेको विषयमा पनि प्रशासनले जानकारी दिएको छ।
घटनामा प्रहरी निरीक्षक राकेश राईसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय गरी दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्। घाइतेहरूको विराटनगरका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। घाइतेको सङ्ख्याबारे विभिन्न निकायबाट फरक–फरक विवरण सार्वजनिक भएकाले आधिकारिक विवरण आउने क्रम जारी छ।
घटनापछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे ले सोमबार बिहान ७ बजेदेखि देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाभरि सोमबार साँझ ७ बजेसम्म निषेधाज्ञा जारी गरेका छन्। आदेशअनुसार पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, प्रदर्शन गर्न तथा शान्ति–सुरक्षामा असर पर्ने गतिविधि गर्न रोक लगाइएको छ।
यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद लालविक्रम थापा ले घटनास्थल पुगेर प्रहरीको गोलीबाट युवकको मृत्यु भएको घटनाप्रति भर्त्सना गरेका छन्। उनले सामान्य विवादमा छातीलगायत शरीरका संवेदनशील भाग ताकेर गोली चलाइएको आरोप लगाउँदै निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा मृतक परिवारलाई न्याय दिन सरकारसँग माग गरेका छन्। साथै घाइतेहरूको उपचारका लागि आवश्यक समन्वय गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
घटनालाई गम्भीर रूपमा लिँदै गृहमन्त्री सुधन गुरुङ ले सिंहदरबारमा गृहसचिव, नेपाल प्रहरीका महानिरीक्षक र सशस्त्र प्रहरी बलका महानिरीक्षकसँग घटनाबारे छलफल गरेका छन्। गृह मन्त्रालयका अनुसार गृहमन्त्रीले घटनाको विस्तृत जानकारी लिँदै शान्ति–सुरक्षा कायम गर्न आवश्यक निर्देशन दिएका छन्।
प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ भने स्थानीय प्रशासनले सर्वसाधारणलाई अफवाहमा विश्वास नगरी संयम अपनाउन आग्रह गरेको छ।