२० मंसिर २०७९, मंगलबार
Tags

नवलपरासी प्रहरीको अप्रेसन, भारतीय ‘लागुऔषध डन’ गोबिन्दको खोजी तिव्र

राजेश कुमार शर्मा बुधबार, साउन २७, २०७८

नवलपरासी / श्रावण २७, भारतीय प्रहरीको सर्वाधिक खोजी (मोस्टवाण्टेड)को सूचीमा रहेका लागुऔषध कारोबारी गोबिन्द गुप्ता (रौनियार) सीमावर्ती नेपाली गाउँमा लुकेको आशंकामा पश्चिम नवलपरासी प्रहरीले खोजतलासलाई तिब्रता दिएको छ ।

गोबिन्दले लामो समयदेखि नवलपरासीहुँदै नेपालका विभिन्न शहरमा लागुऔषध पठाउने गरेको भारतीय अधिकारीहरुले जनाएका छन् । उनी भारत महाराजगञ्ज जिल्ला जमुईकला ग्राम पञ्चायत जमुईकला गाउँका स्थानीयवासी हुन् ।

लागुऔषध कारोबारी गोबिन्दको घर पश्चिम नवलपरासी जिल्लाको सीमावर्ती बजार महेशपुरदेखि करिब ५ कि.मि.को दुरीमा छ । भारतीय सुरक्षा टोलीले हप्ता दिनअघि गोबिन्दको घरमा छापा मारेर २ करोडबढी नेपाली रुपैयाँको लागुऔषध बरामद गरेको थियो । औषधि व्यवसायीका रुपमा परिचित गराउन गोबिन्दले गाउँ नजिकैको गडौरा बजारमा मेडिकल सञ्चालन गर्दै आएका थिए ।
लागुऔषधको गोदाम भने घरमै बनाएर राखेका थिए । गोदाममा ठूलो परिमाणमा लागुऔषध लुकाएर राखेको आशंकमा भारतीय सुरक्षा टोलीले छापा मार्दा उक्त बराबरको लागुऔषध बरामद गरेको थियो । मुख्य कारोबारी गोबिन्द फरार छन् । कारोबारमा संलग्न भएको भन्दै उनका भाई रमेशलाई पक्राउ गरी कारबाही प्रकृया अघि बढाइएको भारतीय अधिकारीहरुलाई उद्दृत गर्दै ठूठीबारीका पत्रकार मनोज कुमार जोशीले बताए । फरार गोबिन्दलाई मोस्टवाण्टेडको सूचीमा राखी त्यहाँको प्रहरीले २५ हजार भारतीय रुपैयाँको पुरस्कार (इनाम) घोषणा गरेको छ ।

नवलपरासीको गेर्मी, महेशपुर, विस्नुपुरालगायतका सीमावर्ती गाउँमा लुकेको आशंकामा सादा पोशाकका भारतीय प्रहरीहरु आएर निगरानी बढाएको त्यहाँका स्थानीयले बताएका छन् । गोबिन्द सीमावर्ती गाउँमा लुकेको आशंकामा निगरानीलाई बढाइएको जिल्ला प्रहरी कार्यालयका एसपी मनोज कुमार यादवले बताए । ‘ भारतीय प्रहरीले उनलाई खोजी गर्न पत्रचार नगरेपनि नेपालमा लागुऔषध पठाउने कारोबारीलाई पक्राउ गर्नु आफूहरुको पनि दायित्व भएकाले अप्रेसन सुरु गरेका हौं ।’ एसपी यादवले भने । फरार गुप्ताका आफन्तहरु नवलपरासीका सीमावर्ती गाउँमा रहेको आशंकामा प्रहरीले ति घरहरुमा छापा समेत मारेको यादवले बताए । स्रोतका अनुसार प्रहरी पुग्नु अघि नै गोबिन्द त्यहाँबाट भागेका कारण प्रहरीको अप्रेशन सफल हुन नसेको बताइएको छ । प्रहरीले मातहतका सबै प्रहरी चौकीहरुमा गोबिन्दको फोटो पठाएर खोजबिनलाई तिब्रता दिएको एसपी यादवले जानकारी दिए ।

प्रहरीले जिल्लामा अप्रेसनलाई तिव्रता दिएपछि उनी भागेर रुपन्देही पुगेको आशंका समेत गरिएको छ । नवलपरासीको नाकाहुँदै नेपालका विभिन्न शहरमा लागुऔषधको जालो फैलाउने गोबिन्दले केही नेपाली युवाहरुलाई प्रलोभनमा पारेर साइकल र मोटरसाइकल मार्फत ओसारपसार गराउने गरेको समेत बताइएको छ । यसअघि पनि गोबिन्दमाथि भारतीय प्रहरीले लागुऔषधमा मुद्दा दायर गरेको थियो । तर उनी पक्राउ पर्न सकेका छैनन् । उनलाई त्यस क्षेत्रमा लागुऔषधका‘डन’ भनेर चिनिने गरिएको बताइएको छ ।

गोबिन्दको घरमा छापा मारेर भारतीय प्रहरीले २८ हजार २ सय २० इन्जेक्सन, १८ हजार ७ सय ८२ सिसी सिरप, ३ लाख १३ हजार ३ सय ८४ क्याप्सुल, १ लाख २४ हजार ८ सय ७५ ट्याब्लेट बरामद गरिएको छ । त्यस्तै नयाँ मूल्य टाँस्नका लागि राखिएको १ लाख ३४ हजार ४ सय ६० वटा स्टिकरसमेत बरामद गरेको थियो । उक्त लागुऔषधको अन्तर्राष्ट्रिय मूल्य (डलर) को आधारमा ६ अर्ब ६८ करोड (६सय६८ करोड) को बरामद भएको भारतीय अधिकारीहरुलाई उद्दृतगर्दै त्यहाँका सबैजसो सञ्चारमाध्यमहरुले जनाएका छन् । यद्यपी त्यहाँ बिक्री हुने लागुऔषधको बजार मूल्यको तुलना गर्दा २ करोड नेपालीको हाराहारीमा रहेको भारतीय मेडिकल सञ्चालकहरुले बताएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्