रणभूमी संवाददाता बुधबार, आश्विन २८, २०८३
नवलपरासी । नवलपरासीको त्रिवेणीस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा आगामी मंसिर १ देखि २९ गतेसम्म ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३’ आयोजना हुने भएको छ । महायज्ञमा पाँच करोड दीप प्रज्ज्वलन, विशाल धनधान्याचल स्थापना, वैदिक शास्त्रहरूको पाठपारायण, धर्माचार्यहरूको प्रवचन तथा विशेष पितृ उद्धार अनुष्ठानलगायत कार्यक्रम मुख्य आकर्षणका रूपमा रहनेछन् ।
अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को पावन सत्संकल्पमा आयोजना हुन लागेको महायज्ञमार्फत सनातन धर्म, वैदिक सभ्यता, संस्कार, संस्कृति तथा आध्यात्मिक ज्ञानको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।
महायज्ञ प्रचारप्रसार समितिका संयोजक अच्युतकृष्ण शरणका अनुसार श्रीमुक्तिनाथ पीठ वेदविद्याश्रमलाई क्रमशः विशिष्ट महाविद्यालयका रूपमा विकास गर्दै वैदिक ज्ञान, संस्कृत शिक्षा, धर्मदर्शन तथा आध्यात्मिक विषयमा अध्ययन र अनुसन्धान विस्तार गर्ने उद्देश्यसमेत महायज्ञले लिएको छ । दीर्घकालीन रूपमा नमुना वैदिक विश्वविद्यालय स्थापना गर्ने लक्ष्यलाई अघि बढाउनु पनि महायज्ञको प्रमुख उद्देश्य रहेको उनले बताए ।
पाँच करोड दीप प्रज्ज्वलनदेखि विशाल धनधान्याचलसम्म
महायज्ञको प्रमुख आकर्षणका रूपमा विशाल धनधान्याचल तथा अष्टाचल स्थापना गरिने आयोजकले जनाएको छ । धार्मिक विधिअनुसार निर्माण गरिने धनधान्याचलमा विभिन्न देवीदेवताका मूर्ति स्थापना गरी शिरमा भगवान् श्रीशालिग्राम विराजमान गराउने योजना छ ।
धनधान्याचललाई मेचीदेखि महाकालीसम्मका विभिन्न देवस्थल तथा तीर्थस्थलको यात्रा गराई अन्त्यमा महायज्ञस्थलमा विधिपूर्वक स्थापना गरिनेछ । अष्टाचलमा तिल, जौ, गहुँ, मकै, चना, मासलगायत अन्न अर्पण गर्न सकिने व्यवस्था मिलाइनेछ । भक्तजनले आफ्नै घरमा उपलब्ध अन्न ल्याएर श्रद्धापूर्वक अर्पण गर्न सक्नेछन् ।
महायज्ञ अवधिभर पाँच करोड दीप प्रज्ज्वलन गर्ने लक्ष्यसमेत राखिएको छ । यसका साथै सयौँ गौमाताको सामूहिक पूजन, सामूहिक श्रीशालिग्राम तथा गण्डकी पूजन र एक हजार आठ कन्या तथा बटुकको पूजन गरिने कार्यक्रम तय गरिएको छ ।
चार वेददेखि १८ पुराणसम्मको पाठपारायण
महायज्ञमा चार वेद, उपनिषद्, १८ पुराण, श्रीमद्वाल्मीकीय रामायण, महाभारत, दिव्यप्रबन्ध तथा विभिन्न स्तोत्रहरूको पाठपारायण गरिनेछ ।
त्यसैगरी श्रीगजेन्द्रमोक्ष स्तोत्र, श्रीविष्णुसहस्रनाम र मूल रामायणको सहस्रावृत्ति पारायण तथा वैदिक वाङ्मय र गोवंश संरक्षण एवं श्रीसमृद्धिको कामनासहित श्रीपञ्चमहालक्ष्मी हवन आराधना गरिने आयोजकले जनाएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त धर्माचार्य, विद्वान् तथा विदुषीहरूबाट शास्त्रीय प्रवचन प्रस्तुत गरिनेछ । राष्ट्रिय धार्मिक कलाकारहरूबाट भजनकीर्तन, देवलीला, झाँकी तथा चेतनामूलक नाटकसमेत प्रदर्शन गरिने कार्यक्रम छ ।
यसका अतिरिक्त महायज्ञस्थलमा दैनिक योग तथा ध्यान शिविर सञ्चालन गरिनेछ । नेपाल आमाको तीर्थमय महिमा, देशका जलसम्पदा तथा प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाको महत्त्वबारे प्रवचन र विमर्श पनि गरिनेछ ।
घरघरबाट एक मुठी चामल ल्याउन आह्वान
महायज्ञलाई जनसहभागितामूलक बनाउन आयोजकले घरघरबाट एक मुठी चामल अर्पण गर्न श्रद्धालु भक्तजनलाई विशेष आह्वान गरेको छ ।
आयोजकका अनुसार भक्तजनले प्रत्येक दिन एक मुठी चामल शुद्ध पात्रमा राखी प्रत्येक दानालाई श्रद्धापूर्वक ‘श्रीराम’ नाम मन्त्रद्वारा अभिमन्त्रित गर्दै छुट्टै बट्टा वा झोलीमा सङ्कलन गर्नुपर्नेछ । सङ्कलित चामल महायज्ञस्थलमा उपस्थित हुँदा ल्याएर अर्पण गर्न सकिनेछ भने उपस्थित हुन नसक्नेले प्रतिनिधिमार्फत पठाउन सक्नेछन् ।
भक्तजनबाट प्राप्त चामल महायज्ञ अवधिभर दैनिक भगवान्लाई खीरको भोग अर्पण गर्न तथा हवनसम्बन्धी कार्यमा प्रयोग गरिने आयोजकले जनाएको छ ।
त्यस्तै, श्रद्धालुहरूलाई आफ्नो घरआँगन वा मठमन्दिरमा रहेको तुलसीको मठ तथा परम्परागत रूपमा पितृपुर्खासँग जोडिएको घरको माटो अमलाको दानाजति परिमाणमा ल्याएर महायज्ञमा अर्पण गर्न पनि अनुरोध गरिएको छ । यसबाट घरपरिवार, पितृस्मृति र स्थानीय धार्मिक परम्परालाई सामूहिक अनुष्ठानसँग जोड्ने उद्देश्य राखिएको छ ।
विपद्मा ज्यान गुमाएकाहरूको स्मृतिमा विशेष पितृ उद्धार अनुष्ठान
महायज्ञमा प्राकृतिक विपद् तथा अन्य कारणबाट असामयिक निधन भएका व्यक्तिहरूको सद्गति, चिरशान्ति र परम कल्याणको कामनासहित विशेष पितृ उद्धार अनुष्ठान पनि आयोजना गरिने भएको छ ।
हालै भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूका साथै नेपालमा विभिन्न समयमा भूकम्प, बाढी, पहिरोलगायत विपद् तथा अन्य कारणबाट दिवंगत भएकाहरूको स्मृतिमा वैदिक शास्त्रीय विधि र परम्पराअनुसार तर्पण, होम, पिण्डदान तथा अन्य धार्मिक अनुष्ठान सम्पन्न गरिने आयोजकले जनाएको छ ।
आफ्ना दिवंगत परिवारजन तथा आफन्तका नाममा संकल्प गराउन चाहने व्यक्तिले दिवंगत व्यक्तिको तस्बिर र मृत्यु भएको तिथिमिति महायज्ञ सम्पादन समितिसँग समन्वय गरी उपलब्ध गराउनुपर्नेछ ।
आयोजकले उक्त अनुष्ठानमा सहभागी भई दिवंगत पितृ तथा आफन्तजनको स्मृतिमा श्रद्धा अर्पण गर्न सबै श्रद्धालुमा आग्रह गरेको छ ।
वैदिक सभ्यता र नेपाली सांस्कृतिक सम्पदाको प्रचारप्रसार लक्ष्य
महायज्ञलाई धार्मिक अनुष्ठानमा मात्र सीमित नराखी नेपालको मौलिक सभ्यता, आध्यात्मिक परम्परा तथा सांस्कृतिक सम्पदाको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने अवसरका रूपमा समेत अघि बढाउने लक्ष्य राखिएको छ ।
वैदिक शिक्षा र आध्यात्मिक ज्ञानको विस्तार, गोवंश संरक्षण, धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धन र भावी पुस्तामा सनातन परम्पराप्रति चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना हुन लागेको महायज्ञमा सहभागी हुन आयोजकले देश–विदेशका श्रद्धालु भक्तजनलाई आह्वान गरेको छ ।