१८ बैशाख २०८१, मंगलबार
Tags

कोबिड अस्पातालबाट लेनदेन मुद्दाका फरार प्रतिवादी ३९ घण्टापछि ईप्रका रानीद्वारा पक्राउ

रणभूमी डेस्क शुक्रबार, साउन २७, २०७९

विराटनगर / लेनदेन मुद्दामा मोरङ जिल्ला अदालतले दोषी ठहर गर्दै ६ महिना कैद सजाय तोकेको मानिस विराटनगर -१४ स्थित कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रबाट फरार भएपछि ईलाका प्रहरी कार्यालय रानीले पुनः ३९ घण्टापछि पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका-१८ झटियाई घर भएका ४५ वर्षीय लक्ष्मण दास तत्मा बुधबार राति १० बजेको समयमा कोबिड अस्पतालबाटै फरार बनेका थिए । फरार बनेका दासलाई इलाका प्रहरी कार्यालय रानी प्रमुख प्रहरी निरीक्षक महेन्द्र दर्नाल नेतृत्वको सिबील टोलीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

विराटनगर-१४ कटुप्पा टोलमा लुकिछिपी बसेको अवस्थामा दिउँसो सवा १ बजेको समयमा उनलाई पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

दासलाई लेनदेन मुद्दामा मोरङ जिल्ला अदालतले २०७६ साल वैशाख २९ गते दोषी ठहर गर्दै ६ महिना कैद सजायको फैसला सुनाएको थियो । सजाय भुक्तान नगरिकन तीन वर्षदेखि फरार रहेका उनलाई प्रहरीले साउन २० गते पक्राउ गर्‍यो । पक्राउ गरेर अदालतमा बुझाउनुअघि कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएसँगै उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

प्रहरीको निगरानीमा उपचार गराइरहेका दास शौचालय जाने बहानामा अस्पतालबाटै फरार बनेका थिए। शौचालय जाने भनेर हत्कडी खोल्न लागाउँदै फरार बनेका दासलाई पक्राउ गर्न प्रहरी सफल भएको डीएसपी श्रेष्ठले बताए। उनका अनुसार अब दासलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गर्न प्रक्रिया अघि बढाइने छ ।

यहाँ कमेन्ट गर्नुहोस्