२४ जेठ २०८२, शनिबार
Tags

कोशी ब्यारेजमा उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरीका दुई गोताखोर प्रशिक्षक बेपत्ता

रणभूमी डेस्क बिहिबार, जेठ २२, २०८२

बिराटनगर / सप्तकोशी नदीको कोशी ब्यारेजमा उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरीका दुई जना गोताखोर प्रशिक्षक बेपत्ता भएका छन्।

बेपत्ता हुनेहरूमा डोटीका सुरज साउद र झापाका हरदेव राजवंशी रहेका छन्। उनीहरू प्रशिक्षार्थी नभएर गोताखोर प्रशिक्षक भएको प्रहरी स्रोतले जनाएको छ।

बिहीबार बिहानदेखि कोशी ब्यारेजको उत्तरी भागमा उनीहरूले प्रशिक्षार्थीहरूलाई उद्धार तालिम दिइरहेका थिए। निरन्तरको वर्षाका कारण कोशी नदीको बहाव बढेको र ब्यारेजका तल्लो भागका ढोकाहरू खुलाइएका थिए।

उनीहरू माथिल्लो क्षेत्रमा अभ्यासमा रहेको बेला अक्सिजन सिलिन्डरसहित बेपत्ता भएका हुन्। दक्षिणतर्फ ब्यारेजका ढोका खुलेका कारण नदीमुनि पानीको तीव्र बहाव रहेकोले उनीहरू पानीको सतहमुनि परेको भुमरीमा फसेर बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको छ।

प्रशिक्षक नै बेपत्ता भएपछि तालिममा सहभागी प्रशिक्षार्थीहरूले तत्कालै खोजी प्रयास गरेका थिए। तर उनीहरूलाई समेत केही बेर पानीले बगाएको थियो।

सशस्त्र प्रहरीको मधेस प्रदेशको विपद्जन्य उद्धार टोलीको आयोजनामा सञ्चालित उक्त तालिमको समापन आउँदो शनिबार हुने तयारी थियो।

बेपत्ता गोताखोरहरूको खोजीका लागि सप्तरी र सुनसरीबाट थप उद्धार टोली परिचालन गरिएको जनाइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्