०२ आषाढ २०८२, मंगलबार
Tags

सवारी दुर्घटनामा दुई जनाको ज्यान गयो, चार घाइते

पवन शाह सोमबार, आषाढ ०१, २०८२

विराटनगर / इलाम र मोरङका दुई फरक स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। गम्भीर घाइतेमध्ये दुई बालबालिका पनि रहेका छन्।

पहिलो दुर्घटना इलाम जिल्लाको इलाम नगरपालिका–११ मा असार १ गते साँझ भएको हो। बिर्तामोडबाट मंगलबारेतर्फ किराना सामान लिएर जाँदै गरेको प्रदेश १–०१–००१ प ९७७८ नम्बरको पिकअप गाडी अनियन्त्रित भई करिब १५० मिटर तल खस्दा गम्भीर घाइते भएका झापा खुदुनाबारी घर भई हाल इलाम देउमाई नगरपालिका–९ नवमी बजारमा व्यवसाय गर्दै आएका ३८ वर्षीय विष्णु पराजुलीको उपचारका क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त गाडीमा सवार पराजुलीकी ८ वर्षीया छोरी प्रेयन्सा पराजुली र गाडी चालक इलाम देउमाई–९ जितपुर निवासी २२ वर्षीय आइतबहादुर लिम्बु गम्भीर घाइते छन्। उनीहरूको बिर्तामोडस्थित बिएनसी अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै, दोस्रो दुर्घटना मोरङको ग्रामथान गाउँपालिका–५ तेतरीया स्थित घिनाघाट सडकखण्डमा राति भएको हो। को ३३ प ६८१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ग्रामथान–४ का २२ वर्षीय सुरज सरदारको विराट नर्सिङ होम, विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ।

उक्त मोटरसाइकलमा सवार अन्य दुई जना – चालक २० वर्षीय दिवेश सरदार र पछाडि सवार १९ वर्षीय राजु उराव घाइते भएका छन्। उनीहरूको समेत सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले दुबै घटनाको अनुसन्धान अघि बढाएको छ। चालकको लापरवाही, तीव्र गतिजस्ता कारणले दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। स्थानीय प्रशासनले सवारी सुरक्षाको विषयमा थप सतर्कता अपनाउन जनसमुदायलाई आग्रह गरेको छ।

यहाँ कमेन्ट गर्नुहोस्