
पवन शाह बिहिबार, आषाढ ११, २०८२

विराटनगर / विराटनगर–१५ को जोगवनी–विराटनगर सडक खण्डमा बुधबार राति एक सवारी दुर्घटना भएको छ। प्रदेश १-०२-०४० प ५९७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकमा हिँडिरहेको गाईसँग ठोक्किँदा गम्भीर दुर्घटना भएको हो। उक्त दुर्घटनामा मोटरसाइकलमा सवार मोरङको विराटनगर–२ निवासी अरविन्द राठी गम्भीर घाइते भएका छन् भने गाईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनास्थलमा तत्कालै पुगेको इलाका प्रहरी कार्यालय रानीको टोलीले घाइतेलाई उद्धार गरी कोशी अस्पताल, विराटनगर पुर्याएको थियो। राठीको उपचार भइरहेको प्रहरीले जनाइएको छ। उनीसँग फेला परेको भन्सार प्रज्ञापन पत्रका आधारमा परिचय खुलाइएको हो।
यस दुर्घटनाले सडकमा छाडा चौपाया हिँड्न नदिने विषयमा बेवास्ता गर्दै आएको स्थानीय प्रशासन र सरोकारवाला निकायहरूको भूमिकालाई प्रश्नको घेरामा ल्याएको छ।
दुर्घटनामा संलग्न गाईको घटनास्थलमै मृत्यु भएको थियो। रातको समयमा पोस्टमार्टम सम्भव नभएकाले गाईको शवलाई इलाका प्रहरी कार्यालय रानीले बिहीवार दिउँसो १ बजेसम्म सुरक्षा प्रदान गर्दै सुरक्षित राखेको थियो।
विराटनगर महानगरपालिका पशु पन्छी शाखा र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका विज्ञ चिकित्सकको टोलीले बिहीवार बिहान गाईको पोस्टमार्टम गरेको हो। टोलीमा डा. सञ्जय ढुङ्गाना सहित चार जना विशेषज्ञ थिए भने नेतृत्व महानगरका प्रतिनिधि गणेश पौडेलले गरेका थिए।
पोस्टमार्टम पछि गाईको शवलाई विधिपूर्वक खाल्डो खनी गाडिएको प्रहरी स्रोतले जानकारी दिएको छ।
स्थानीय बासिन्दाहरूले यस्ता छाडा चौपायाका कारण बारम्बार सडक दुर्घटना हुँदै आएको गुनासो गर्दै आएका छन्। तर, नियन्त्रणका लागि प्रभावकारी पहल नहुनुले जनजीवनमा खतरा थपिएको उनीहरूको भनाइ छ।
सवारी सुरक्षाको सवालमा सडकको संरचना मात्र होइन, चौपायाको व्यवस्थापन पनि उत्तिकै महत्त्वपूर्ण विषय हो, जसतर्फ सम्बन्धित निकायको तत्काल ध्यान जान आवश्यक देखिन्छ।