२२ आषाढ २०८२, सोमबार
Tags

भोजपुरमा पारिवारिक बिवादले डरलाग्दो रूप लिँदा चार जनाको ज्यान गयो

पवन शाह आइतबार, आषाढ २१, २०८२

भोजपुर / भोजपुरको रामप्रसादराई गाउँपालिका–२ स्थित हेलौंछामा आइतबार राति भएको एक दर्दनाक घटनामा एकै परिवारका चार सदस्यको हत्या भएको छ। घटना राति करिब १:१५ बजे तिर भएको हो।

घटनामा संलग्न रहेको आशंकामा श्रीमान् राजेन्द्र राई गम्भीर घाइते अवस्थामा फेला परेका छन्। जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार, राजेन्द्रले आफ्नी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी र सालो सपन गिरीको धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्।

राजेन्द्र राईको पेटमा तीन स्थानमा गहिरो चोट लागेको छ। प्रारम्भिक उपचारका लागि उनलाई भोजपुर अस्पताल ल्याइएको भए पनि अवस्था गम्भीर भएपछि थप उपचारका लागि अन्यत्र रेफर गरिएको भोजपुर प्रहरीले जनाएको छ।

छिमेकीहरूका अनुसार केही दिनअघि मनिषा गिरी माइती घर आएकी थिइन्। उनलाई लिन गएका राजेन्द्र र माइती पक्षबीच केही विवाद भएको थियो। यद्यपि, विवादको स्पष्ट कारण भने खुलेको छैन।

घटना राति अबेर भएको र ढिलो खबर पाएका कारण प्रहरीले घटनास्थलमा पुग्न केही समय लागेको बताइएको छ। हाल प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाइसकेको छ भने विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

चारै जनाको शव पोस्टमार्टमका लागि पठाइएको छ। घटनाले सिङ्गो गाउँ स्तब्ध बनेको छ।

यहाँ कमेन्ट गर्नुहोस्