
रणभूमी सम्वाददाता सोमबार, भाद्र २२, २०८२

काठमाडौं / राजधानी काठमाडौंसहित देशैभरी भएको युवा विद्यार्थी प्रदर्शनमा प्रहरी दमनका कारण दर्जनौं व्यक्तिको मृत्यु भएको छ भने सयौं आन्दोलनकारी र पत्रकार घाइते भएका छन्। जनता समाजवादी पार्टी नेपालले आज जारी गरेको प्रेस विज्ञप्तिमार्फत यो जानकारी दिएको हो।
युवा विद्यार्थी सम्मिलित ‘जेनजी जेड’ पुस्ताले सामाजिक सञ्जाल बन्द गरेको विरुद्ध र भ्रष्टाचार अन्त्यका लागि गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गोली प्रहार गरेको पार्टीले आरोप लगाएको छ। मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको तत्काल निशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।
महासचिव रामकुमार शर्माको हस्ताक्षरमा जारी प्रेस विज्ञप्तिमा देशमा लामो समयदेखिको गरिबी, बेरोजगारी, कुशासन र भ्रष्टाचारका कारण आम जनसमुदाय आक्रोशित रहेको उल्लेख छ। पार्टीले युवा विद्यार्थीहरूको शान्तिपूर्ण आन्दोलनमाथि दमन तत्काल बन्द गर्न, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन र वार्ता सम्वादमार्फत समस्या समाधान गर्न सरकारसँग माग गरेको छ।