२८ आश्विन २०८२, मंगलबार
Tags

जोगवनीमा विवादपछि तनाव, नेपाली नागरिकलाई नाकामा रोकियो

रणभूमी सम्वाददाता शुक्रबार, आश्विन १०, २०८२

विराटनगर / सामाजिक सञ्जालमा धार्मिक आस्थालाई ठेस पुग्ने स्टाटस र टिप्पणीको विषयलाई लिएर जोगवनीमा दुई समूहबीच विवाद चर्किएपछि स्थानीय क्षेत्रमा तनावपूर्ण स्थिति सिर्जना भएको थियो। तर अहिले जनजीवन सामान्य अवस्थामा फर्किएको छ।

शुक्रवार दिउँसो करिब १ बजेको समयमा जोगवनी बजारमा तनावपूर्ण स्थिति सिर्जना भएको थियो। विवाद चर्किएपछि जोगवनीको बजार क्षेत्रमा झडपको स्थिति सिर्जना हुनसक्ने अवस्था देखिएको थियो।

तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै नेपाली प्रशासनले किनमेलको लागि जोगवनी जाने नेपाली नागरिकहरूलाई नाकामा केही बेर रोक्नुपरेको थियो। नेपाली नागरिकहरूको सुरक्षालाई ध्यान दिएर यस्तो व्यवस्था गरिएको बताइएको छ।

घटनापछि सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानी, इलाका प्रहरी कार्यालय रानी र रानी सीमाका सुरक्षाकर्मीहरूले नाकामा सुरक्षा व्यवस्था कडा पारेका छन्।

हाल जोगवनी क्षेत्रको स्थिति नियन्त्रणमा रहेको र जनजीवन सामान्य अवस्थामा फर्किएको जनाइएको छ। सामाजिक सञ्जालमा भएको विवादले स्थानीय क्षेत्रमा तनाव सिर्जना गरेको भए पनि समयमै लिइएको सुरक्षा उपायले स्थितिलाई नियन्त्रणमा राख्न सफल भएको छ।

स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूले क्षेत्रको अवस्थामाथि निरन्तर निगरानी राखिरहेका छन्।

यहाँ कमेन्ट गर्नुहोस्