२८ आश्विन २०८२, मंगलबार
Tags

बिराटनगरमा-१६ बाढीले ७७ घर डुबानमा, ३८१ जनाको ईप्रका रानीले गर्यो उद्धार

रणभूमी सम्वाददाता सोमबार, आश्विन २०, २०८२

बिराटनगर / मोरङको बिराटनगर महानगरपालिका–१६ स्थित दरैया मुसरी बस्ती, दरैया बस्ती र दक्षिण गेट क्षेत्रमा असोज १८ र १९ गते परेको अविरल वर्षाका कारण केसलिया खोलाको पानी घरभित्र पसेपछि ठूलो क्षति पुगेको छ।

बाढीका कारण उक्त क्षेत्रका करिब ७७ घर डुबानमा परेका थिए। इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी निरीक्षक कविन राईको कमाण्डमा खटिएको प्रहरी टोलीले स्थानीय निकायहरूसँग समन्वय गरी डुबानमा परेका ३८१ जना स्थानीयवासीलाई सकुशल उद्धार गरेको छ।

उद्धार गरिएका बाढी पीडितहरूलाई वडा नं. १६ स्थित दुर्गा मन्दिर, हुलास मेटल, मिल्स माविमा र वडा नं. १५ स्थित नृसिंहनाथ बाबा धर्मशालामा अस्थायी रूपमा बसोबास गर्न लगाइएको छ। यी स्थानहरू इप्रका रानीबाट करिब २ किलोमिटर पश्चिममा पर्दछन्।

प्रहरी निरीक्षक राईले बाढी पीडितहरूलाई सुरक्षित स्थानमा सार्ने काम तत्काल सम्पन्न गरिएको र उनीहरूको राहत र पुनर्स्थापनाका लागि स्थानीय निकायसँग समन्वय जारी रहेको जानकारी दिए।

असोज १८ गतेदेखि लगातार परेको भारी वर्षाका कारण केसलिया खोलाको पानी स्तर बढेर बस्तीभित्र पसेको थियो। अहिले बाढी पीडितहरूलाई अस्थायी आश्रय स्थलमा राखिएको छ भने उनीहरूको दैनिक आवश्यकताका लागि स्थानीय प्रशासन र संघसंस्थाहरू परिचालनमा रहेका छन्।

यहाँ कमेन्ट गर्नुहोस्