रणभूमी सम्वाददाता बिहिबार, आश्विन २९, २०८३
विराटनगर / मोरङको विराटनगरस्थित कारागार कार्यालयको मुख्य प्रवेशद्वारमा गरिएको नियमित जाँचका क्रममा ४८० थान शंकास्पद लागूऔषध बरामद गरिएको छ। घटनामा संलग्न रहेको भनिएका दुई महिलालाई आवश्यक कारबाहीका लागि प्रहरीले जिम्मा लिएको छ।
२०८३ असोज २९ गते दिउँसो १२:३० बजे विराटनगर महानगरपालिका–८, हाटखोलास्थित कारागार कार्यालयको मुख्य प्रवेशद्वारमा नियमित जाँच गर्ने क्रममा सुनसरीको धरान उपमहानगरपालिका–११ निवासी मेलिना तामाङ र पूर्णिमा तामाङले भित्री वस्त्रको प्याडमा लुकाएर ल्याएका ट्याब्लेट फेला परेको विवरणमा उल्लेख छ।
जाँचका क्रममा हरियो रङका २४० थान र सुन्तला रङका २४० थान गरी जम्मा ४८० थान ट्याब्लेट बरामद गरिएको हो।
बरामद ट्याब्लेटसहित दुवै महिलालाई दिउँसो १२:५० बजे कारागार कार्यालयमा खटिएको नेपाल प्रहरीको टोलीलाई आवश्यक कारबाहीका लागि बुझाइएको जनाइएको छ।