
रणभूमी सम्वाददाता सोमबार, आश्विन २०, २०८२

बिराटनगर / असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षाका कारण मोरङका विभिन्न स्थानमा ४०४ घर डुबानमा परी १,७६४ जना प्रभावित भएका छन्। बाढीमा परी एक जनाको मृत्यु भएको छ।
बिराटनगर महानगरपालिका–१६ सुगरमिल नजिकको खाल्डोमा भारत घर भइ बिराटनगर–१६ मा डेरा गरी बस्ने ३५ वर्षीया अनिता राउत पानीको भेलले बगाएर डुबी मृत्यु भएको प्रहरीले जनाएको छ।
बिराटनगर–१२ बखरीमा ७७ घर डुबानमा परी ३५० जना प्रभावित भएका छन्। रतुवामाई–५ कुमार टोल, महराजथान र मुसरभिट्टामा ५९ घर डुबानमा परी २८० जना प्रभावित भएका छन्। सुनबर्षी–३ बाहुनटोलमा ६० घर डुबानमा परी २५० जना प्रभावित भएका छन्।
बिराटनगर–१६ दरैया बस्तीमा ७७ घर डुबानमा परी ३८१ जनाको उद्धार गरिएको छ। बिराटनगर–२ पूर्वटोलामा ३५ घर डुबानमा परी १५० जना प्रभावित भएका छन्। कटहरी–१ बखु टोलमा ३५ घर डुबानमा परी १०० जना प्रभावित भएका छन्।
सुनबर्षी–६ कैनिटोल, उर्लाबारी–९ बोडरलाइन र मिक्लाजुङ–६ मलामीटहरामा खोलाले बाँध कटान गरेको छ। कानेपोखरी–१ बीर टोलमा चिसाङ खोलाले दुई कठ्ठा खेत कटान गरेको छ।
उद्धार गरिएका बाढी पीडितहरूलाई विभिन्न विद्यालय, मन्दिर र धर्मशालामा राखिएको छ। बिराटनगर महानगरपालिका, जीवन विकास संस्था, मारवाडी सेवा समाज र रतुवामाई नगरपालिकाले राहत वितरण गरेका छन्।