२८ कार्तिक २०८२, शुक्रबार
Tags

बिराटनगर–जोगबनी नाकामा भिखारीको झोलाबाट तीन लाख १८ हजार बरामद

रणभूमी सम्वाददाता शुक्रबार, कार्तिक २८, २०८२

बिराटनगर / बिराटनगर–जोगबनी नाकामा एक भारतीय भिक्षुकको झोला खानतलासी गर्दा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले तीन लाख १८ हजार रुपैयाँ बरामद गरेको छ।

शुक्रबार बिहान नेपालबाट भारत जाँदै गरेका एक अपाङ्गता भएका भिक्षुकको हातमा कालो रंगको झोला देखेपछि एसएसबीले चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा झोलाभित्र विभिन्न मूल्यका नेपाली नोटहरू भेटिएको एक सुरक्षाकर्मीले पुष्टि गरे।

बरामद रकममा १०, २०, ५०, १००, ५०० र एक हजार दरका नोटहरू रहेको बताइएको छ। भिक्षुकको साथमा एक सहयोगी पनि रहेको र उनीहरूको साथबाट तीन वटा स्मार्ट फोन समेत बरामद गरिएको छ।

भारतीय नागरिक भनिएका ती व्यक्ति नेपालको विभिन्न ठाउँहरूमा भीख माग्ने गरेको खुलेको छ। उनीहरूले बरामद भएको रकम तीन महिनाको कमाइ भएको बताएका छन्।

एसएसबीले उक्त रकम र अन्य सामानसहित भिक्षुकहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्